सन्नी लियोनले नेपाली फिल्म खेल्ने

प्रकाशित मिति : : शुक्रबार, भदौ ८, २०७५

बलिउडकी हट अभिनेत्री सन्नी लियोनले नेपाली फिल्म खेल्ने पक्का भएको छ । उक्त फिल्ममा भिलेन टर्न हिरो अभिनेता अनुपबिक्रम शाहीले सन्नीसँग स्क्रिन सेयर गर्दैछन् ।

प्राप्त जानकारी अनुसार करोड बढी भारतीय रुपियाँ लिएर सन्निले नेपाली फिल्म ‘पासवर्ड’मा अनुबन्ध भएकी हुन् । सम्पुर्ण छायाँकन बेलायतको लण्डन आसपास हुने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् ।

यहि अगस्ट २६ बाट फ्लोरमा जाने फिल्मको लागी सन्नी लण्डन आउँदैछिन् भने शुक्रबार मात्रै अनुप प्रस्थान गर्नेछन् । छायाँकार तथा प्राविधिक सहितको टोली यसअघि नै नेपालबाट बेलायत पुगिसकेको छ । फिल्मलाई बिक्रम जोशीले निर्माण गर्न लागेका हुन् । बिक्रम फिल्ममा अनुप र सन्नीसँगै लिड अभिनयमा रहनेछन् ।

सन्निको नेपाली फिल्ममा अनुबन्धलाइ प्रष्ट्याउँदै बिक्रमले भने, ‘नेपाली फिल्मलाई नयाँ उचाइ दिन नेपाली र बलिउड कलाकारको फ्यूजन जोड्नको लागी नै सन्नीलाई लिएका हौँ, गुणस्तरिय फिल्म निर्माणमा चुनौती पनि छ तर त्यसलाई मैले अबसरको रुपमा लिएको छु ।’

यसअघि बेलायतमै सम्पुर्ण छायाँकन गरिएको एक नेपाली फिल्मको निर्माण तथा अभिनयमा समेत देखिएका बिक्रमले भोलीको दिनमा आफु नियमित रुपमा फिल्म मेकिङमा लाग्ने भन्दै नेपाली फिल्म स्तरियता र आधुनिकतामा फड्को मार्ने अवस्थामा रहेको हुँदा विदेश बस्ने नेपालीहरुको साथ पनि निरन्तर रहनुपर्ने बताए ।

अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहने फिल्ममा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा हुनेछन् । लण्डनसँगै बर्नमाउथ र ससेक्स लगायतका ठाउँमा फिल्म खिचिने बताइएको छ । २०१९ को सुरुवातीमा रिलिज तार्गेट गरिएको फिल्ममा सन्नीले एक आइटम दृश्य दिनेछिन् भने केहि भाग अभिनयमा पनि हुनेछिन् ।

एबि इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलााई सौरभ लामाले खिच्नेछन् । कोरियोग्राफी रामजी लामिछानेको रहने कन्फर्म भएको छ ।