गाईलाई राष्ट्रिय जनावरको मान्यता दिनुहुदैन : बाबुराम भट्टराई

प्रकाशित मिति : : सोमवार, भदौ ११, २०७५

काठमाडाैँ भदाै ११ ।  नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सबै जाति समुदायलाई आफ्नो प्रचलन संस्कारअनुसार खाने लाउने अधिकारलाई प्रत्याभूत गर्नुपर्ने बताएका छन् ।

हिजो प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरूको मन नहुँदा नहुँदै कुनै एउटा जनावर विशेषलाई राष्ट्रिय जनावर बनाइएको बताए । भट्टराईले गाईलाई राष्ट्रिय जनावरको मान्यता दिन नहुने बताए । उनले धार्मिक समुदायको अधिकारको रक्षा गर्नुपर्ने समेत बताए । एउटै जनावरलाई राष्ट्रिय जनावरको मान्यता दिन नहुने उनको भनाइ छ ।

कार्यान्वयनमा आइसकेको मुलुकी ऐनमा गाई काटेर खान नपाउने भन्ने व्यवस्था रहेको विरोध गर्दै हप्ता दिनअघि राजधानीमा एक युवाले नग्न प्रदर्शन गरेको हल्ला सेलाउन नपाउँदै पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रिय जनावर गाईको प्रसंग संसद्मा उठाएका हुन् । उनले अन्तरिम संविधान बनाउने विषयमा सबै कुरा मिलिसकेपछि गणतन्त्र र जनावरकै विषयमा कुरा अड्किएपछि आफूहरूले गणतन्त्र पनि राखौँ र त्यही जनावरलाई राष्ट्रिय जनावर मानौँ भनेको बताए । संविधान संशोधन गरेर यस्ता कुरा मिलाउनुपर्ने उनको भनाइ थियो ।

भट्टराईले सरकारले एकपछि अर्को विधेयक ल्याइरहेकोमा स्वागत गर्दै पर्याप्त संशोधन गरेर पारित गर्नुपर्ने बताए । नागरिकता ऐन, आवासको अधिकारलगायतका विभिन्न विधेयकमा संशोधनको आवश्यकतासमेत उनले औँल्याए ।

पूर्वप्रधानमन्त्री भट्टराईले आफू नेत्रविक्रम चन्द विप्लवको बाटोमा सहमत नभए पनि खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई छोड्ने र पक्रने गरेर सरकारले पञ्चायतको झझल्को दिएको उल्लेख गरे । टीकापुर घटनाको प्रसंग निकाल्दै उनले जननिर्वाचित सांसद रेशम चौधरीलाई शपथ गराइनुपर्ने बताए ।