५ वर्षपछि साफ सेमिफाइनलमा नेपाल !

प्रकाशित मिति : : आइतवार, भदौ २४, २०७५

काठमाडाै,भदाै २४ ।  नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २-० ले हराउँदै नेपालले  सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह ‘ए’ को बिजेता पनि बन्यो ।

नेपालको लागि सेमिफाइनल पुग्न यो जित अनिवार्य थियो । पाकिस्तान विरुद्ध सुरुको पहिलो खेल गुमाएर ठूलो दबाबमा आएको नेपालले त्यस यताका दुई खेल जितेर प्रतियोगितामै उत्कृष्ट पुनरागमन गर्‍यो । नेपालको जितमा ३३ औं मिनेटमा बिमल घर्तीमगर र ९० औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे ।

जितसँगै समूह एमा रहेको नेपालसँगै पाकिस्तान र बंगलादेशको समान ६-६ अंक भएको थियो । तर, भुटानविरुद्ध गरेको ४ गोल नेपालका लागि महत्वपूर्ण बन्यो र गोल अन्तरका समूह विजेता बनेर अन्तिम चारमा स्थान बनाएको छ ।

नेपाल साफ च्यम्पियनसिपको इतिहासमा सेमिफाइनल पुगेको यो चौथोपटक हो । यसअघि सेमिफाइनल पुगेको तीन उपलब्धि विदेशी प्रशिक्षकको नेतृत्वमा प्राप्त भएको थियो । अघिल्लाे पटक सन् २०१३ मा नेपाल सेमिफाइनलमा पुगेकाे  थियाे । अहिले २०१८ मा पुग्दा फेरी सेमिफाइनलमा पुगेकाे छ । यस बिचमा अन्तराल हेर्दा नेपाल ५ वर्ष पछि पुन: सेमिफाइनलमा पुगेकाे छ ।

यसपल्ट नेपाली प्रशिक्षक बालगोपाल महर्जनले यो उपलब्धि हात पारेका छन् । २०१३ मा प्युटोरिकोका ज्याक स्टेफेनोस्कीले नेपाललाई साफ च्याम्पियनसिपको सेमिफाइनलसम्म पुर्‍याएका थिए । नेपालले अब सेमिफाइनलामा खेल्ने प्रतिद्वन्द्वीको निर्णय आइतबार भारत र माल्दिभ्सबीच हुने खेलले गर्ने छ । यी दुर्इ मध्य जितेका एक टाेली सँग नेपालले प्रतिसपर्धा गर्नेछ ।