निर्मला हत्या प्रकरणः राजीनामा दिएका केसी पुनः समितिमा फर्किए

प्रकाशित मिति : : बुधबार, भदौ २७, २०७५

काठमाडौँ, २७ भदौ । निर्मला पन्त हत्या र बलात्कार काण्डको अनुसन्धान समितीबाट राजीनामा दिएका उपसचिव बिरेन्द्र केसीले राजीनामा फिर्ता लिएका छन् ।केसीले राजीनामा फिर्ता गर्दै पुनः अनुसन्धान समितिमा रहेर काम गर्ने भएका हुन् ।

समितिले दोषी ठहर गर्न नसक्ने भएको भन्दै राजिनामा गरेका केसीले भर्खरै गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनबाट राजीनामा फिर्ता लिएको जानकारी दिए । आफूले छोड्दा अपराधी छुट्ने सम्भावना रहने भन्दै उनले नाटकीय रुपमा पुनः समितिमै रहेर काम गर्ने जनाएका हुन् ।

गृह मन्त्रालयले घटनाको अनुसन्धान गर्न आइतबार मात्रै समितिको म्याद १५ दिन म्याद थप गरेको छ । म्याद थपिएसँगै केसीले समितिबाट राजीनामा दिएका थिए ।

भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

बलात्कार र हत्या भएको ४७ दिन पूरा भइसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन् ।