गृहमन्त्री र आईजीपीको एउटै निर्णयले वीरेन्द्र केसी ‘ब्याक’ !

प्रकाशित मिति : : बुधबार, भदौ २७, २०७५

काठमाडौँ, २७ भदौ । दुई दिनअघि आफूलाई ज्यानको डर भएको भन्दै सुरक्षा माग गरेर राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी निर्मला पन्तको बलात्कारपछि भएको हत्या छानबिन समितिमा फर्किएका छन् ।

बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश सातका आन्तरिक मामिला मन्त्रालयका उपसचिव केसीले गृह मन्त्रालयको र आफ्नो उद्देश्य निर्मलालाई न्याय दिने भएकाले स्वेच्छाले काममा फर्किएको बताए ।

गृहमन्त्री रामबहादुर थापा (बादल) र र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग आज विहान २ घण्टा छलफल गरेपछि उनले राजीनामा फिर्ता लिएका छन् । गृहमन्त्री बादल र आईजीपी खनालले केसीको सुरक्षा जिम्मा लिएका कारण उनी फर्किएको स्रोतको दाबी छ । निर्मला हत्या काण्डमा सरकारको पूर्ण सहयोग रहने सुनिश्चित भएपछि उनी फर्किका हुन् ।