निर्मलाका बाबुले रुँदै भने: प्रधानमन्त्रीले ववितालाई सपोर्ट गर्नुभयो

प्रकाशित मिति : : बिहिबार, भदौ २८, २०७५

काठमाडौँ,भदौ २८ । कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका लागि काठमाडौँ आएका आफन्तले प्रमाण नष्ट गर्न भूमिका खेलेका प्रहरी अधिकारीहरुलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् ।

रिपोर्टस क्लबमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  निर्मलाका बाबु यज्ञराजले प्रधानमन्त्री केपी शर्मा ओलीले नै शंकाको घेरामा रहेकी बम दिदीबहिनीको पक्षमा अभिव्यक्ति दिएको भन्दै निर्मला पन्तका आमाबुबाले चित्त दुखाए ।

निर्मलाकी साथी रोशनीसँग बुझ्न खोज्दा प्रहरीले निर्मलाकी आमा र गाउँलेहरुलाई उल्टै हप्काएको पनि पन्तले बताए । पत्रकार सम्मेलनमा बोल्दा बेलाबेलामा भक्कानिएका यज्ञराजले सरकारले न्याय दिन नसक्ने भए आफूहरुलाई गोली ठोकेर मार्न आग्रह गरे ।

यज्ञराजले प्रहरीको साथ नपाएको भन्दै  गुनासो गरे । आफ्नी छोरीको साइकल भेटियो भन्नसाथ बबिताले ‘साइकल भेटियो भने शव पनि भेटिन्छ होला’ भनेको भन्दै उनले भने, ‘हत्या भएको उसलाई कसरी थाहा भयो ?’

बम दिदीबहिनी शंकाको घेरामा रहेको तर, सरकारले उनीहरुलाई सपोर्ट गरेको उनको गुनासो छ । उनले गहभरी आँसु पार्दै भने, यति प्रमाण हुँदाहुँदै सरकारले उल्टै ववितालाई सपोर्ट गर्दैछ । प्रधानमन्त्रीले तगडा बनाइदिएका छन् ।’

आमा दुर्गादेवी पन्त:

निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफूलाई जसरी पनि न्याय दिन राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् ।

प्रहरीले छोरीका हत्यारालाई पक्राउ गर्न नसकेपछि न्यायका लागि काठमाडौँ आएकी दुर्गाले आफ्नै छोरी सम्झेर न्याय दिन आग्रह गरेकी छन् ।

‘प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ । महिला राष्ट्रपति पनि यहीँ हुनुहुन्छ । न्याय दिलाउने जिम्मा उहाँहरूमा छ’, उनले भनिन्, ‘न्याय दिनुहुन्छ भनेर प्रधानमन्त्रीको शरणमा आएका छौं । राष्ट्रपति पनि आमा हुन् । मेरो मात्र छोरी नसम्झिनू, तपाईंको पनि छोरी सम्झिनुस् । मेरो छोरीको ठाउँमा आफ्नो छोरी भएको भए के हुन्थ्यो भन्ने सम्झेर न्याय दिनुहुन्छ भनेर आएकी छु ।

’उनले भनिन्, ‘न्याय दिन सक्नुहुन्न भने हामी न्याय दिन सक्दैनौं, तपाईंलाई मार्न चाहन्छौं भन्नुहोला । मेरो छोरीको बलात्कार भएर बितेर अहिले देश नै रोइरहेको छ । मलाई पनि मार्छु भन्नुस्, गोली ठोक्नुस् । म पनि मर्न चाहन्छु ।’