एसपी विष्टसहित तीनजनाको डिएनए परीक्षण

प्रकाशित मिति : : बिहिबार, भदौ २८, २०७५

काठमाडौँ,भदौ २८ । प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए परीक्षण सुरु गरेको छ ।

गत साउन १० गते घरबाट हिँडेकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया  निर्मलाको हत्या प्रकरणमा एसएसपी विष्टसहित तीनजना शंकाको दायरामा परेपछि उनीहरुको डिएनए परीक्षण सुरु गरिएको हो ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार हाल निलम्बनमा रहेका एसपी विष्ट,  उनका छोरा किरण र भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको रगत लिएर डिएनए परीक्षण सुरु गरिएको हो । निर्मला प्रकरणमा मुछिएका आयुष सुरेन्द्रका भतिजाका साथै नेपाली कांग्रेस महासमिति सदस्य भुपेन्द्र विष्टका छोरा पनि हुन् ।

प्रहरी प्रवक्ता क्षेत्रीका अनुसार निर्मलाका अभिभावक र आफन्तको गुनासो सम्बोधनसँगै अभियुक्त पत्ता लगाउनका लागि थप प्रमाण जुटाउन डीएनए परीक्षण थालिएको हो ।

, प्रवक्ता क्षेत्रीले भने, ‘प्रहरी प्रधान कार्यालयले निर्मलाको बलात्कार र हत्या प्रकरणमा पीडितका आफन्तको प्रश्न सम्बोधनका तत्कालीन एसपी विष्टसहित तीनजनाको डीएनए परीक्षण गराउन विधि विज्ञान प्रयोगशालामा प्रक्रिया अघि बढाइसकेका छौँ ।’