निर्मला हत्या प्रकरणः ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो – राष्ट्रपति भण्डारी

प्रकाशित मिति : : शुक्रबार, भदौ २९, २०७५

काठमाडौँ,भदौ २९ ।। राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गरेकी छन् ।

उनले भनिन्, ‘ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा सङ्लग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्छ ।’

राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् भएको बताइन् । उनले पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई अत्यन्त दुःखी तुल्याएको चर्चा गर्दै यस दुःखद् घटनाप्रति परिवारजनमा सहानुभूति प्रकट गरिन् ।

राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यावहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार अन्त्य गर्न सकिने बताइन् ।

बालबालिकामाथि हुुने हिंसा, दुव्र्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्ने उनले बताइन् ।
राष्ट्रपति भण्डारीले भनिन्,‘कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलङ्क हो, यसलाई जरैदेखि उखलेर फाल्नुपर्छ ।’

आजका बालबालिका भोलिका सक्षम र योग्य नागरिक हुन्, उनीहरुको जन्मदेखि नै स्वास्थ्य एवं शिक्षामा सरकारको विशेष ध्यान जानुपर्ने उनले बताइन् । यसवर्षको बाल दिवसको नारा ‘सुखी नेपाली, समृद्ध नेपाल बालअधिकार सबैको सरोकार’ रहेको छ । -रासस