काठमाडौ-पटना- बोधगया सिधा यातायात सुचारू, अनलाइनबाटै टिकट काट्न सकिने

प्रकाशित मिति : : शुक्रबार, भदौ २९, २०७५

काठमाडौं  । राजधानी काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा यातायात सेवा सुचारू भएको छ ।

बिहार राज्य पथ परिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.को सहकार्यमा काठमाडौदेखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले संयुक्त रूपमा यो सेवाको उद्घाटन गरेका छन् ।

यसैगरी जनकपुरदेखि पटनाका लागि ३१ गते आइतबारदेखि सिधा बससेवा सुरू हुनेछ । सोही कार्यक्रमको उद्घाटन प्रदेश नं.२ का मूख्यमन्त्री लालबाबु राउतले गर्ने कार्यक्रम रहेको छ ।

स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.ले भारतका नयाँ क्षेत्रमा यातायात सञ्चालन गरेसँगै अनलाइनबाट बस टिकट काट्न सकिने सेवाको समेत सुरूवात गरेको छ । अबदेखि यात्रीहरूले www.manjushreeyatayat.com.np मार्फत् अनलाइनटिकट काट्न सक्नेछन् ।

यसैगरी बससेवाको वेबसाइट बससेवा डटकम (www.bussewa.com) तथा बससेवाको मोबाईल एप्स, इसेवाको वेबसाइट तथा मोबाईल एप्लिकेशनबाट समेत टिकट काट्न सकिनेछ । इसेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोलछिमेकमा रहेका इसेवाका जोन तथा पोइन्टबाट टिकट काट्न सक्नेछन् । साथै भविष्यमा आइएमइ पे, इप्रभु तथा एनआइसी एसिया बैंकमार्फत् समेत टिकट काट्न सकिनेछ ।

राजधानीमा आयोजित बस उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातयात मन्त्री रघुवीर महासेठले दुई देशका बिचमा इतिहासदेखि नै सुमधुर सम्बन्ध रहिआएकोमा पछिल्लो समय भारत र नेपालको सम्बन्ध अझ उचाइमा पुगेको बताए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले पटना, बोधगया लगायतका क्षेत्रमा पनि सिधा यातायात सुचारू हुनाले दुई देशका बिचमा यातायात सुविधा अझ सहज हुनुका साथै यसले नेपाल र भारत बिचको सम्बन्धलाई अझै उचाइमा पुर्याउने बताए ।

यस्तै कार्यक्रममा स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.का अध्यक्ष अनिल चालिसेले भने, ‘ हामीले आगामी दिनमा पनि भारतका अन्य राज्य तथा पर्यटकीय क्षेत्रलाई लक्षित् गर्दै सिधा यातायात सेवा विस्तार गर्दै जानेछौँ । साथै हामीले यात्रुलाई टिकट काट्नकै लागि काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ सेवाको सुचारू गरेका छौँ’ ।

वि.स २०५६ सालदेखि काठमाडौबाट दिल्ली यात्रु बस संचालन गर्र्दै आएको यस सस्थाले सन २०१४ देखि विधिवतरुपमा सरकारी स्तरवाट समेत नेपाल भारत नियमित मैत्रि बस सेवामा परीणत भएको छ ।

हाल काठमाडौ–दिल्ली–काठमाडौ, काठमाडौ बनारस काठमाडौका लागि नेपाल भारत नियमित मैत्री बससेवा सञ्चालन हुँदै आएको छ । अबदेखि यी यातायातको टिकट पनि अनलाइनबाट काट्न सकिनेछ । सन् २०१४ मा भएको १८ औँ सार्क सम्मेलनका बेला नेपालका तत्कालिन प्रधानमन्त्री स्व. सुशील कोइराला र भारतीय प्रधानमन्त्री मरेन्द्र मोदीले नेपाल भारत मैत्री बसको उद्घाटन गरेका थिए ।