दुःख, पिडा र अभावमा कोही नेपाली मर्नु नपरोस् – समाजसेवी थापा

प्रकाशित मिति : : बुधबार, अशोज १७, २०७५

काठमाडौं, असोज १७ ।
वि.सं. २०२५ सालमा काठमाडौंमा जन्मिएका समाजसेवी उज्वलविक्रम थापा सिन्धुलीका स्थायी बासिन्दा हुन् । सिन्धुलीका स्थापित/प्रतिष्ठित सामाजिक ब्यक्तित्व मोहनविक्रम थापाको सुपुत्र उनी सामाजिक सेवाको क्षेत्रमा १२ वर्षको उमेरदेखि नै क्रियाशिल छन् । विशेषत्ः नेपालमा २०७२ सालमा गएको विनाशकारी भुकम्पपछि सिन्धुलीमा, सिन्धुली पुनःनिर्माण अभियान सञ्चालन गरी आफ्नो सक्रियतामा करोडौं रकम बराबरको राहत वितरण, पिडितको पुर्नस्थापना गरेर सिन्धुलीबासीको आशा र भरोभा बनेका थापाले त्यसपछाडी आफ्नो समाजसेवाको दायरा फराकिलो बनाउँदै लगेका छन् । उनले सिन्धुलीमा मात्र नभएर देशभरका विभिन्न अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेका छन् । समाजसेवा कसैबाट प्रेरित भएर नगरेको बताउने उनी सामाजिक सेवालाई आफ्नो पारिवारिक विरासतको रुपमा निरन्तरता दिईरहेको बताउँछन् । उनको बुबाले उनलाई सिन्धुली जिल्लालाई आफ्नो व्यापारिक, व्यवसायिक वा अरु कुनै क्षेत्रको रुपमा नलिई सेवा क्षेत्रको रुपमा लिनु र सोही अनुसार गर्नु भनेकोले पनि उनी सिन्धुली जिल्लाको लागि आफ्नो प्राण रहुञ्जेल सेवा गर्ने अठोटमा छन् । हाल सिन्धुली ट्रष्ट निर्माण गरेर संस्थागत ढंगले समाजसेवामा अगाडी बढिरहेका उनै समाजसेवी सिन्धुली ट्रष्टका अध्यक्ष उज्वलविक्रम थापासँग अखबार दैनिकका हाम्रा सहकर्मी बिक्रम रत्नले उनको समाजसेवा र सामाजिक क्षेत्रको सन्दर्भमा कुराकानी गरेका छन् ।

समाजसेवामा लाग्नुपर्छ भनेर प्रेरित कहिलेदेखि हुनुभयो ?

प्रेरित भएको भन्दिन । जुन परिवारमा जन्मियौँ, मान्छेले आश गर्ने भनेको सबै सँग आश नगर्दा रैछन् । आश लिएर आएको मान्छेलाई फिर्ता पठाउने कठोर मन नभएको परिवार पर्यौ हामीचाहीँ । कसैको बच्चा बिरामी हुन्छ भने सम्पन्नता वा विपन्नताले त्यसको पिडा कम हुने होईन । खास भन्ने हो भने त विपन्नताले पिडा बढाईदिन्छ । म त सम्पूर्ण विश्वभरीका मान्छेलाई के भन्छुभने, हाम्रो नेपाली यति सहनशिल छ कि उहाँहरुलाई त सबैले ढोग्नुपर्छ । किनभने यदी मेरो छोरी कथमकदाचित बिरामी भएर जिवन र मृत्यु बिचमा सङ्घर्ष गर्दाखेरी केवल पैसाको अभावले मात्रै मेरी छोरी नबाँच्ने भएको भए शायद म बैंक लुट्न जान्थें हुँला । नेपाली कति सहनशिल छन् । अस्पतालमा आश गरेर बस्छन् । आफ्नो पिडा लुकाएर बस्छन् । तर उसले कहिल्यैपनि अपराध गर्दैन । यसको अर्थ हामीले उहाँहरुलाई सधैँ त्यही स्तरमा छोड्ने होईन । मेरो जिवनको लक्ष्य सायद बुबाहरुको पालादेखि नै के थियो भने पैसाको अभावमा कोहीपनि हाम्रो नागरिक मर्नु नपरोस् भन्ने उदेश्य बोकेको परिवार हो त्यसलाई मैले निरन्तरता दिएको मात्रै हो ।

विशेषत्ः नेपालको विनाशकारी भुकम्पछि सिन्धुलीमा सेवा गर्न तपाई पुगेपछि सबै पुस्ता माझ परिचित हुनुभयो । आर्थिक, सामाजिक, भौतिक रुपमा धेरै सहयोगपनि गर्नुभयो । ठ्याक्के त्यतिखेरै देखि अब मैले यसरी सेवा गर्नुपर्छ भनेर चाहिँ आफुमा कसरी कन्भिन्स हुनुभयो ? कुनै व्यक्तिगत घट्ना, परिघटना ?

हामीभन्दा अगाडीका पुस्ताले २०४५ सालका भुकम्प बेहोरेका हुन् । त्यसबेलामा सिन्धुलीमा घाइतेहरुको उपचार सम्भव थिँएन । सिन्धुलीबासि जो ०४५ सालको भुकम्पमा घाइते भएर काठमाण्डौँमा उपचार गर्न ल्याईएको थियो त्यो बेलामा पनि कमलपोखरीको मेरो घरबाट १४५ जनाको कुरुवाको खाना घरबाटै बनाएर अस्पतालसम्म मेरो पुर्खाहरुले लगिदिनु हुन्थ्यो । मलाई ०७२ को त्यो भुकम्पको दिन जिवनको एउटा पाटो राम्रोसँग बुझ्ने अबसर मिल्यो । हजारौँ हजार मान्छे मर्दाखेरी हामी कति भाग्यमानी हामी बाच्यौँ । सायद दिन नआएको हुँदो हो । त्यो दिनलाई हामिले फर्केर हेर्ने हो भने, त्यो दिन सबैभन्दा ठुलो चिज आफ्नो ज्यान थियो । हामिले सङ्घर्ष गरेर आफ्नो इज्जत, प्रतिष्ठासँग जोडेर हेर्ने नेपाली समाजमा जुन घर थियो । त्यही घरबाट भागिभागी हिडेका थियौँ हामी सबै । मलाई के लाग्यो भने, यदि हामी सम्पन्न वर्गका मान्छेले त यस्तो दुःख पाएका छौँ भने जुन विपन्न वर्गका हाम्रा जिल्लाबासिहरुको घरबार तहसनहस भएका छन् । घाइतेहरु उपचारका क्रममा हुनुहुन्छ । उहाँहरुको दुःख कति होला ? यदि मैले सहयोग माग्दिएर कुनै गरिबलाई केही सौलियत हुन्छ भने मैले नर्गनुचाहीँ अमानविय हो भनेर मैले मेरो चिनजानका साथीभाईहरुलाई र आफ्नो नीजि स्रोतसाधन सबै लगाएर सेवा गर्न थालेको हो ।

भुकम्प पछाडी मात्रै आजको दिनसम्म आइपुग्दा समाजसेवामा कति रकम खर्चिनुभयो ?

त्यसरी मैले हिसाब त राखेको छैन । ५७३ वटा जस्तापाताका टहरा बनायौँ त्यो बेलामा । लगायतका मैले गरेका काम देखिइरहेकै छन् । काम गर्दै जाँदा करोडौं खर्च भइसकेको छ । हामी निरन्तर भोलिका दिनमा पनि काममा लागिरहन्छौं । सेवा गरिरहने छौं ।

समाजसेवामा लगाउनुभएको रकमको स्रोत के हो ?

भुकम्पको समयमा त आफ्नो निजी रकम पनि धेरै लगानी गरियो । हिसाब किताब गरिरहिएन, दुःख पिडा परेको देखेपछि पैसाको हिसाब गरिरहने भन्दापनि पहिले काम गरौं भन्नेतिर लागियो । म के मा विश्वास राख्छु भने, नेपालीमा मानवता निकै छ । हामिसँग नभएको इमान्दारीता र पारदर्शिता । त्यसैले भुकम्पको बेलामा मैले जतिपनि काम गरें । लगलभ ९० प्रतिशत सामाजिक सञ्जालबाटै चन्दा उठाएको हो । त्यसको लागि दुइसय रुपैँया दिनेदेखि लिएर सबैभन्दा बढी आएको भनेको एकजनाले एकलाख छ हजार रुपैँया मात्र हो । संख्या ठुलो थियो कसैको पनि दाताको रकम ठुलो थिएन् । हामिले जुन अनुसारले आयो त्यही अनुसारले गर्दैपनि गयौँ । नपुगेको खण्डमा निजी पैसापनि हालियो । म विदेशी पैसा लिन नचाहाने मान्छे, किनभने उहाँहरुले हाम्रो देशको दुःख बुझेकै छैन् । हाम्रो रहनसहन बुझ्नु नै भएको छैन् । उहाँहरुकोमा निवेदन दिनुपर्ने, माग गर्नुपर्ने । मानौंन, तिनकन्याकी एउटी बच्चा बिरामी परेर आउन् अथवा तेजाब आक्रमणमा परेर आउन्, चाहे यु एस बंगलाको विमान दुर्घटनामा परेको परिवारको त्यो श्रमिकको ऋण मुक्ति भयो । मलाई अर्को कुन पिडा आउँछ भन्ने नै मलाई थाहा छैन भने मैले माग कसरी गर्ने ? त्यसहिसाबमा हामीले एउटा कुरा के गर्छौ भने जब कुनै पिडा आइपुग्छ र हामीले सामाजिक सञ्जालमा लेख्छौँ । विभिन्न व्यक्तिहरुले, संस्था होईन, विभिन्न व्यक्तिहरुले नै मेरो तर्फबाट यो र त्यो सहयोग भनेर नै हामीले अहिलेसम्म काम चलाइरहेका छौँ ।

आगामी दिनको समाजसेवाको यात्रा के–कसरी अगाडी बढ्ने ? कुन माध्यमबाट अगाडी बढ्ने ? कुनै ठुलै योजनाहरु छन् ?

पहिलो कुरा त यो एनजिओ, आईएनजिओ हरुलाई कर्भ गर्नुपर्ने अबस्था छ । किनभने आजको अबस्थामा दुःख परेको नेपाली नेपाल सरकारकहाँ नगईकन विदेशीले चलाएको संघसंस्थामा जान थालेका छन् । यसले हाम्रो विभिन्न विभाजनका रेखाहरु कोर्दै गएका छन् । जस्तो अहिले नै पनि २ नं प्रदेशको तेजाब आक्रमणको केशमा प्रदेश सरकारले चारलाख रुपैँया दियो । उहाँहरु अगाडी नबढेको खण्डमा एउटा न एउटा एनजिओ अथवा आइएनजिओ आएर लगानी गथ्र्यो । त्यसले के हुन्छ भने राष्ट्रप्रतिको माया घटेर संस्थाप्रतिको माया बढेर जान्छ । हामीले चाहिँ के प्रयास गरेका छौँ अहिले भने सिन्धुली ट्रष्ट खोलेका छौँ । जसमा हामी ५ जना सदस्य छौँ । यसको प्रमुख उदेश्य के हो भने अब यसलाई हामीले संस्थागत रुपमा कसरी लिएर जाने, म भौतिक अवस्थामा नहुँदापनि यो कार्य कसै न कसैले म पछिपनि गरिराखोस् । कुनै व्यक्तिका कारण समाजसेवाको काम नरोकियोस् । निरन्तरता रहिरहोस् भनेर सिन्धुली ट्रष्टको स्थापना गरेका छौँ । हामीले अब सिन्धुली ट्रष्टबाट समाजसेवाको कामको निरन्तरता दिन्छौँ ।

तपाई राजनीतिमा सक्रिय हुनुहुन्छ होईन् ? राजनीतिमा छु भन्नेकुरा देखाउन चाहानुुहुन्छ कि लुकाउन चाहानुहुन्छ ?

हामी सबै मनुष्य भएर जन्मिएपछि राजनीतिक दल भनेको मैले चाहिँ कसरी हेर्छु भने सबैका आ–आफ्ना सिद्धान्त र शासन प्रणालीको अपेक्षा राखिएको एउटा भिजन हो । म त सुरुवाती देखि नै राप्रपासँग आबद्ध छु । अहिले राप्रपा (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य छु । तर सामाजिक क्षेत्र र राजनीतिक क्षेत्रलाई अलग पाटोका रुपमा हेर्ने गरेको छु ।

सामाजिक र राजनीतिक क्षेत्र विचमा के फरक पाईरहनु भएको छ ?

पहिलो कुरा त राजनीति भनेकै समाजसेवा हो । अहिले आएर ब्यवसाय भएको छ । मैले के देख्छु भने यदी राज्यकोषमा नै निर्भर भएर सम्पूर्ण गरिबि निवारण गर्छु, सम्पूर्ण सेवा पनि त्यही कोषबाट गर्छु भने त जनप्रतिनिधि नै चाहिदैँन । हाम्रो पहिला पनि कर्मचारीले चलाएकै देश हो । अहिलेपनि उहाँहरुले चलाए सरह नै छ । हामीले त के भने जनप्रतिनिधी, सामाजिक अभियन्ता अथवा भनौं राजनीतिक अभियन्ता भनौं उहाँहरुले त समाजलाई समेट्न सक्नुपर्यो । एकआपसमा दुःख पर्दा समाज एकत्रित भयो भने कतिपय दुःख हामीले राज्यको स्रोत नहुँदाखेरी त्यही समुदायको स्रोतबाट पनि गर्न सक्छौं । अहिले हामीले के गर्यौ भने नागरिकताको प्रमाणपत्र दोस्रो तहको परिचय । पहिले तहको परिचयपत्र चाहीँ राजनीतिक दलको सदस्यता । यो चाहीँ सम्पूर्ण रुपमा गलत हो भन्ने व्यक्ति हुँ म । अधिकार नेपाली नागरिकले पाउनुपर्छ । छनौट नेपाली नागरिकको हुनुपर्छ । जस्तो आजभोलि जागिर खुल्दा सक्षम नखोजेर आफ्नो खोज्छौँ । फेरी हामी भन्न चाहीँ यो देश चलाएको नै भएन भन्छौँ । यो सामाजिक र राजनीतिक रेखा बडो पातलो र मसिनो छ । राजनीति भनेको नै एउटा सेवाको माध्यम हो । त्यसबाट सायद हामी टाढा गएको हुनाले सामाजिक क्षेत्र र राजनीतिक क्षेत्र छुट्टीएको मात्र हो नभए त कुरा एउटै हो ।

दुख, पिडामा परेका ब्यक्तिहरुलाई गरिने सेवा भाव बाहेक, सिन्धुली को बिकास र समृद्धिका लागि विकास, निर्माण अथवा अरु क्षेत्रबाट सहयोग गर्ने योजना छ कि छैन ?

जिल्लाको विकास गर्ने सन्दर्भमा पनि मेरो भिजन प्रष्ट रुपमा छ । सुनिल थापा जी उद्योगमन्त्री हुँदाखेरी कमलाखोजमा औद्योगिक कोरिडोर र मरिणमा औद्योगिक कोरिडोर अध्ययनका लागि हामीले पास गराएका थियौँ । सायद अहिलेका जनप्रतिनिधिहरुले त्यसको सन्दर्भमा पनि प्रक्रिया, काम अगाडी बढाइरहनुभएको होला । काठमाडौं उपत्यकाबाट बोर्डिङस्कूलहरुलाई बाहिर निकाल्नुपर्छ भन्ने व्यक्ति म हो । किनभने एक त आमाबाबुले नभ्याएर छोराछोरीलाई बोर्डिङमा राख्ने । त्यसलाई काठमाडौंको महंगी, काठमाडौंको प्रदुषण, काठमाडौंको बातावरण, पानीको अभाव यहाँ पाल्नुपर्ने आवश्यकता के ? हामीले छिमेकी राष्ट्र भारतमा हेर्यौँ भने अधिकांश बोर्डिङस्कुलहरु पर्यावरणको हिसाबले, बातावरणको हिसाबले, मौसमको हिसाबले जहिल्यैपनि पहाडी भु–भागमा भेट्छौँ । हाम्रो मरिण र कमलाखोजलाई औद्योगिक करिडोरको योजना, हाम्रो माथिल्लो महाभारतलाई बोर्डिङस्कुलहरुका लागि त्यो क्षेत्रलाई विकास गरौँ र कोशि कोरिडोरलाई तल गएर बालुवा र ढुंगा झिक्ने काममात्र होईन । यसले पानीबाट चल्ने मनोरञ्जन र पार्टीबाट चल्ने क्रियाकलापको पर्यटकीय हिसाबमा बिकास गर्न सकियो भने सायद सिन्धुलीले फड्को मार्छ ।

थप केही ?

सक्षम सरकार आए हामीकहाँ मान्छे नै आइपुग्दैन थियो । हारगुहार माग्ने ठाउँ नेपाल सरकार हुनुपर्ने हो । संविधानमा त हाम्रो अधिकारका कुराहरु यति छन् कि हामिभन्दा सुरक्षित त नागरिक नै छैन कोहीपनि । दुर्भाग्य के भने जब कुनै चेलिबेटी बिरामी पर्छन्, जब वृद्धा बिरामी पर्छन् । त्यतिखेर राज्यले केही गर्दैन र हामीजस्ता मान्छेकहाँ गुहार माग्न आउँछन् । हामीपनि के चाहान्छौँ भने नेपाल सरकार, स्थानीय निकाय, अस्पताल, यहाँका शैक्षिक क्षेत्रको यस्तो राम्रोसँग सञ्चालन होस् कि हाम्रो घर भोलीदेखि खाली होस् । तर त्यो दिन मेरो जिवनकालमा आउँला जस्तो चाहिँ लाग्दैन । तर प्रयत्नशिल चाहिँ सबै हुनुपर्छ ।

भोलि राजनीतिमा अझ सशक्त भएर लागौँला, जनप्रतिनिधि नै बनुँला भन्नेपनि त लागेको होला ?

त्यसरी प्रत्यक्ष त मैले सोचेको छैन् । तर म एउटाकुरा म के मा विश्वास गर्छु भने जनप्रतिनिधिहरुले गर्नुपर्ने उहाँहरुको कर्तव्य इमान्दारीतापूर्वक, पारदर्शिरुपमा गर्नुभएको छ कि छैन त्यो जिल्लाको नागरिकको हिसाबले पनि म नियाल्छु । त्यसमा प्रगति नभएको खण्डमा त्यो भन्दा राम्रो सेवा मैले गर्नसक्छु भनेर जान नपाउने भनेर त हाम्रो नागरिक अधिकारले रोक्दैन । त्यो चाहिँ उहाँहरुको नतिजा हेरिसकेपछि मैले निर्णय गर्ने कुरा भयो ।

तपाईले गरिरहेको काममा तपाईको परिवारको सहयोग कति छ ? उहाँहरु खुशी हुनुहुन्छ त तपाईले गर्दै गरेको सामाजिक काममा ?

मेरो श्रीमति पनि मेरोजस्तै पारिवारिक पृष्ठभुमीको हो । मेरो ससुरापनि प्रतिष्ठित राजनीतिक÷सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । यो जिवनशैली पहिले नै अपनाइसकेको भएर परिवारबाट अवरोध छैन । अवश्यपनि एउटा पतिको, एउटा पिताको, एउटा छोराको घरभित्रको जिम्मेवारीमा समय कम दिएको गुनासो हुन्छ नै । मेरो आमा हुनुहुन्छ अहिले ८२ वर्ष पुग्नुभयो । उहाँलाई मैले गरेको काममा सायद मेरो बुबाको झझल्को आउँछ । त्यसैले उहाँको समर्थन र आर्शिवाद छदैँछ । परिवारका सम्पूर्ण सदस्य मेरो काममा सन्तुष्ट हुनुहुन्छ । सबैको समर्थन छ ।

अहिलेको नेपाली समाजको चित्रण कसरी गर्नुहुन्छ ?

हामी युवापुस्ता हुँदा नेपालमा टेलिभिजन भित्रियो । अहिलेको पुस्तामा इन्टरनेट भित्रियो । हामीले के बुझ्नुपर्छ भने पश्चिमा देश र ठुला कम्पनीका यि मार्केटिङ टुल्स हुन् । हाम्रो दुर्भाग्य, हामी आफ्नोपनबाट टाढा भाग्दैछौँ । सलवार कमिज लगाउँदा पाखे हुने, कटनको धोति लगाउँदा पाखे हुने, जिन्स टिर्सट लगाउँदा आधुनिक बन्ने । विभिन्न कार्यमा भोजभतेरको एउटा परम्परा बसेको छ, त्यसलाई परिवर्तन गर्नुपर्छ । लुगा लगाईमा, खानपानमा सबै नेपालीपन त्यागिसक्यौै त्यसलाई परिवर्तन गर्नुपर्छ । आस्थाका कुराहरुपनि छन् । सधैँभरी भगवान मान्नेचाहीँ धार्मिक । आपत परेको बेलामात्रै भगवान माग्नेचाहिँ नास्तिक । मान्न त उसलेपनि त मानेको छ नि । यस्ताखालका दोहोरो चरित्रबाट हामि टाढा हुनुपर्छ । अहिलेका युवाहरुले पैसा सबैभन्दा ठुलोकुरा हो भनेर सोच्न छोड्नुपर्यो । पैसाले सबै चिज हुँदैन । समाजमा महिला हिंसा बढेका छन् । महिलाको सशक्तिकरणमा भनेर धेरै संघसंस्थाले काम गरे, तर रुढिबादी पुरुष चिन्तन/सोँच परिवर्तन गराउने काम कसैले गरेन् । यहाँ रुढिबादी पुरुषको सोँच र प्रगतिशिल बाटोमा हिडेको महिला बिचका सङ्घर्ष छ अहिले समाजमा । महिलालाई बलत्कारबाट जोगिने, सुरक्षित हुने कसरी भनेर सिकाउँछौँ । पुरुषलाई चाहिँ यो गलत हो भनेर कहिले सिकाएनौं । पुरुष अझै रुढीबादी चिन्तन्मा छन् यसकारण यस्ताखाले अपराधिक घटनाहरु घटीरहेका छन् । यतातिर सरकारको ध्यान जानुपर्छ ।

तपाईँको विचारमा जिवन के हो ?

यो एउटा अस्थायी रमाईलो गर्ने एक किसिमको विभिन्न ब्यक्तित्व, विभिन्न भावनाहरुसँग जोडिने एउटा अवसर मात्रै हो । मैले चाहिँ जिवनलाई जहिलेपनि एउटा भावनात्मक रुप र अर्को विज्ञानको रुपमा हेर्छु । जन्मेको प्राणी एक न एक दिन मर्नैपर्छ । यो जिवनको यात्रा कसरी अगाडी बढाउने भन्ने आफ्नो आफ्नो सोँच हो । मैले सधैँभरी के भन्ने गरेको छु भने मान्छे भएर जन्मिएपछि मान्छेको काम लाग्नुपर्छ । साना बच्चालाई त एउटा जनावरले पनि हेर्छ । पाए अर्कोलाई खान्छ । मान्छे भएर जन्मिएपछि अर्काको पिडापनि हामीले यदि भावनात्मक रुपमा महशुस गर्न सकिँदैन भने मान्छे भएको काम लाग्दैन भन्ने मलाई लाग्छ ।

१२ वर्षको उमेरदेखि बुबाले बिरामीहरुलाई सेवा गर्ने जिम्मेवारी दिनुहुन्थ्यो । विभिन्न बिरामीहरुलाई कहिले कुन अस्पताल, कहिले कुन अस्पताल पुर्याउने र उपचारमा सहयोग गर्ने सेवा गर्ने जिवनकाल शुरु भयो । यसै शिलशिलामा सामाजिक सेवामा काम गरेको अनुभव उमेरको हिसाबले गर्ने हो भने त लगभग ३६/३७ वर्षको अनुभव भैसक्यो ।

अन्त्यमा, के भन्न चाहानुहुन्छ ?

मैले खुट्टामा चप्पल नभएका मान्छेदेखि यो देशको अरबपति सबैलाई चिन्छु । विभिन्न कालखण्डमा विभिन्नसँग संगत गर्छु । यो मेरो सौभाग्य पनि हो । सबैलाई त्यस्तो अबसर हुँदैन । एउटा चिजचाहिँ दुइटैमा उस्तै भेट्छु । खुट्टामा चप्पल नहुँनेले पनि भन्छ दाई म भएको बेला गर्छु र अरबपति जो अरबौंको घरमा बसेको छ करोडौंको मोटर चढेको छ । लाखौंको घडी लगाएको छ । उसलाई भेट्दापनि दाई म भएपछि गर्छु भन्छ । सेवा भन्नेचाहिँ कति भएपछि गर्ने कति नभएपछि गर्ने भन्नेकुरा चाहिँ बाहानामात्रै हुन् । हामी नेपाली एकआपसमा दुःख परेको बेला संगठित भएर जे–जति सकिन्छ हामी आफैँले गर्ने हो भने विदेशीको मुख ताक्नुपनि पर्दैन । हामीले नेताहरुलाई गाली गर्नुपनि पर्दैन । हाम्रो व्यवस्थालाई गालि गर्नुपनि पर्दैन । गाउँघरमा मान्छे मर्दा मलामी चारजना भेला पार्न नसक्ने स्थितिमा हामी पुगेका छौं । विभाजन हामिले जातियतामा गरेका छौं । भौगोलिकतामा गरेका छौं । भाषामा गरेका छौं । धर्ममा गरेका छौं । एकजुट बनौं । सेवा भनेको एकजुट नभइकन हुँदैन । हामीले सामाजिक रुपमा कम्तिमा कमाइको एक प्रतिशत आफ्नो छरछिमेकमा, गाउँमा, समाजमा, आफ्नो परिवारमा परेका मान्छेहरुलाई हामिले सहयोग गर्ने भावना जघाउने हो भने हाम्रो देश दुःखमा पूर्णरुपमा आफैँ सक्षम छ र हामिले कसैसँगपनि भिख माग्नुपर्दैन । विदेशीको पैसा भित्र्याएर देश चलाएर या सामाजिक संस्था चलाएर राष्ट्रियता कुनै हालतले पनि बढ्दैन । तपाई हामी सबैको प्रेमभाव बढ्ने हो भने यो देशमा राष्ट्रियता बढ्ने हो भन्न चाहान्छु । धन्यवाद ।