टी–२० विश्वकप छनोटः नेपालले थाइल्यान्डलाई दियो १७३ रनको चुनौती

प्रकाशित मिति : : आइतवार, अशोज २१, २०७५

काठमाण्डौ, असोज २१ । मलेसियामा जारी टी–२० विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र बीको तेस्रो खेलमा नेपालले थाइल्याण्डलार्इ १ सय ७३ रनको चुनौती दिएको छ ।

मलेसियाको वायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रेको नेपालले करण केसीको उत्कृष्ट प्रदर्शनको सहयोगमा पुरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो ।

नेपालका लागि करण केसीले ४० रन बनाए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै उच्च स्कोर बनाएका हुन् । त्यस्तै सोमपाल कामीले करणलाई राम्रो साथ दिदै ४ रनमा अविजित रहे ।

यसअघि नेपालका लागि शरद भेषवाकरले ३४ रन बनाए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३० रन बनाएर आउट भए ।

अनिलकुमार शाहले २५ रन बनाए भने विनोद भण्डारी १५ र आरिफ शेखले ८ रन बनाए । यता, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुदा कप्तान पारस खड्का ५ रनमै आउट हुन पुगे ।