कुखुरापालनमा वार्षिक बीस अर्ब बाहिरिँदै

प्रकाशित मिति : : आइतवार, अशोज २१, २०७५

चितवन, असोज २१ । कुखुरापालन व्यवसायमा वार्षिक रु २० अर्बभन्दा बढी रकम बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण सो रकम बाहिरिने गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं कृषि र वन समितिका संयोजक डा तिलचन्द्र भट्टराईकाअनुसार दानाका कच्चा पदार्थमा मात्रै वार्षिक रु १६ अर्बभन्दा बढी रकम विदेशिने गरेको छ । भटमास, मकै, हड्डीको धुलो, सूर्यमुखिको पिना, ढुटो, ढुटोको तेल निकालेपछिको पीना, क्याल्सियमलगायतका कच्चा पदार्थ भारत र अन्य देशबाट आयात गरिँदै आएको छ । असीदेखि ९० प्रतिशत भारतबाट तथा अरु तेस्रो मुलुकबाट आयात गरिन्छ ।

“वार्षिक रु दुई अर्बभन्दा बढी औषधि र भ्याक्सिनका लागि तथा रु एक अर्ब उपकरण खरिद गर्न रकम विदेशिन्छ,” डा भट्टराईले भने । नेपालमा गत आर्थिक वर्षमा ११ लाखभन्दा बढी ब्वायलर प्यारेन्ट चल्ला र एक लाख आठ हजार लेयर्स प्यारेन्ट चल्ला आयात गरिएको थियो । रु ६४ करोडभन्दा बढी रकम खर्च हुने गर्दछ । लेयर्स प्यारेण्टका लागि रु ८०० र ब्वायलरका लागि रु ५०० हाराहारी पर्छ । डलरको मूल्य र समयअनुसार मूल्य घटबड हुने गर्छ ।

नेपालमा लेयर्स प्यारेन्ट उत्पादन हुँदैन भने ब्वायलर प्यारेन्ट न्यून सङ्ख्यामा उत्पादन हुँदै आएको छ । माग धान्न नसकेपछि विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार थाइल्याण्ड, मलेसिया, अष्ट्रेलिया, फ्रान्स, जर्मनीलगायतका देशबाट नेपालमा प्यारेन्ट चल्ला आयात गरिन्छ । तीनै प्यारेन्टले पारेको अण्डालाई कोरलेर चल्ला उत्पादन गर्ने गरिन्छ । बिस्टकाअनुसार वार्षिक रु ६० अर्बभन्दा बढीको पोल्ट्रीजन्य उत्पादन नेपालमा बिक्री हुने गर्दछ । हालसम्म पोल्ट्रीजन्य उत्पादन निर्यात हुन सकेको छैन । राज्यको नीतिगत स्पष्टता नहुँदा आयात बढ्दै गएको र निर्यात हुन नसकेको बिष्टले बताए ।

हरेक वर्ष व्यापार घाटा बढ्दै गएको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेल पछिल्लो वर्षमा वातावरण अनुकूलित भवन बनाएर कुखुरा पाल्दा अधिकांश सामान विदेशबाट आयात गर्नु परेको बताउँछन् । दाना, भाँडा, अत्याधुनिक खोरमा राखिने उपकरण र चल्ला उत्पादन गर्ने उपकरण आयात गरिँदै आएको छ । दानामा ५० देखि ६० प्रतिशत मकै तथा १८ देखि २४ प्रतिशत भटमास प्रयोग हुन्छ । जुन नेपालमै उत्पादन गर्न सकिन्छ । कँडेल नेपालका किसानलाई अनुदान दिएर बाँझो जग्गा प्रयोगमा ल्याउन सके र प्यारेन्ट चल्ला मागअनुसार यही उत्पादन गर्न सके पोल्ट्री क्षेत्रको व्यापार घाटा कम गर्न सकिने बताउँछन् ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेल नेपालमा भटमास र मकैको व्यावसायिक खेती गर्न सकेमा ७० प्रतिशत पोल्ट्रीको व्यापार घाटा कम गर्न सकिने बताउँछन् । प्यारेन्ट चल्ला उत्पादन क्षमता स्वदेशमा बढाउन सकेमा थप १० प्रतिशत व्यापार घाटा कम गर्न सकिने उहाँको भनाइ छ । सरकारले बीउ मात्रै दिएर होइन, अनुगमन सहित आवश्यक सहयोग किसानलाई गर्न सकेमा बाँझो खेतमा मकै र भटमास लगाएर कृषि क्षेत्रको व्यापार घाटामा कमी ल्याउन सकिने उनले बताए ।

हाल नेपालमा ब्वायलर चल्ला हप्तामा २५ देखि ३० लाख, लेयर्स चल्ला हप्तामा एक लाख ५० हजार, गिरिराज दुई लाखदेखि दुई लाख २५ हजार र प्यारेन्ट २० हजार उत्पादन हुँदै आएको छ । पोल्ट्री क्षेत्रमा रु ७० अर्बभन्दा बढी लगानी भइरहेको छ ।