दोस्रो नेत्रावती डपजोङ्ग कप फुटबल प्रतियोगिता आजदेखि शुरु

प्रकाशित मिति : : बुधबार, अशोज २४, २०७५

धादिङ, असोज २४ । धादिङको नेत्रावती डपजोङ्ग गाउँपालिका मार्पाकमा दोस्रो नेत्रावती डपजोङ्ग कप फुटबल प्रतियोगिता आज देखि शुरु हुँदैछ ।

नेत्रावती डपजोङ्ग गाउँपालिकाको सहकार्य र अखिल नेपाल फुटबल संघ(एन्फ) को प्राविधिक सहयोगमा उक्त प्रतियोगिता हुन लागेको हो । आजदेखि शुरु भई असोज ३० गते समापन हुने यस कार्यक्रम मार्पाक सामुदायिक क्लवले आयोजना गरेको हो भने सुकेल छार युवा क्लब, पोल्चेत युवा क्लब, लामिडाडा युवा समाज, थला जनचेतना युवा समाजले सह–आयोजना गरेका मार्पाक सामुदायिक क्लवका कोषाध्यक्ष अनिल अधिकारीले जानकारी दिए ।

प्रतियोगीतामा प्रथम हुने टिमलाई ६६ हजार ६ सय ६६, दोस्रो हुनेलाई ३३ हजार ३ सय ३३ नगद , मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रत्येक खेलमा म्यान अफ द म्याच ट्रफी, उत्कृष्ट ६ खेलाडीलाई बेष्ट प्लेयर ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका काजीराम अधिकारीले जानकारी दिए ।

यस प्रतियोगिता सहिद संकल्प र सम्पर्कको स्मृतीमा चौथो पटक र चन्द्र बहादुर–बुनादेवी अधिकारीको स्मृतीमा प्रथम पटक संयुक्त रुपमा आयोजना हुन लागेको हो ।