नगरप्रमुख सवार गाडीमा अज्ञात समूहको आक्रमण

प्रकाशित मिति : : बुधबार, अशोज २४, २०७५

सिरहा, असोज २४ । सिरहाको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवान सवार गाडीमा अज्ञात समूहले हिजो साँझ ढुङ्गामुढा गरी तोडफोड गरेका छन् । नगरपालिकाको परिषद्को बैठक सकिएपछि नगरप्रमुख पासवान बाहिर जान लाग्दा उहाँ सवार ना१झ १६३९ नं को स्कारपियोमा एक समूहले ढुङ्गामुढा गरी सिसा फुटाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

ज्यान मार्ने उद्देश्यले योजनावद्ध रूपमा आफूमाथि आक्रमण गर्न खोजिएको नगरप्रमुख पासवानको भनाइ छ ।

नगरप्रमुख पासवानको गाडीमा ढुङ्गामुढा गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले बताए ।