टि–ट्वान्टी विश्वकप: चीनमाथी नेपालको सानदार जित

प्रकाशित मिति : : बुधबार, अशोज २४, २०७५

काठमाडौँ, असोज २४ । टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले लगातार पाचौं जित हात पारेको छ ।

चीनले दिएको २७ रनको झिनो चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ११ बलमा विना विकेट लक्ष्य पूरा गर्दै १० विकेटले जितेको हो । नेपालका लागि ओपनर विनोद भण्डारीले ८ बलमा २४ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, प्रदीप ऐरी ४ रनमा अविजित रहे ।

यसअघि मलेसियाको मायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको चीनले नेपालसामु ठूलो स्कोर बनाउन सकेन । चीनले १३ ओभरमा सबै विकेटको क्षतिमा २६ रन मात्रै बनाएपछि नेपालले २७ रनको चुनौति पाएको हो ।

चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए । लगतार ५ खेलमा शानदार जित हात पारेको नेपालले १० अंक बनाएको छ ।