५ वर्ष त खाल्डो पुर्दे बित्ने भयो : मेयर शाक्य

प्रकाशित मिति : : बिहिबार, अशोज २५, २०७५

काठमाडौँ, असोज २५ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकाल खाल्डो खन्ने र पुर्देमा बित्ने अवस्था सृर्जना भएको बताएका छन् ।

बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मेयर शाक्यले आफ्नो ५ वर्षे कार्यकाल खाल्डो खन्ने र त्यसलाई पुर्देमा बित्ने चिन्ता गरे । मेलम्चीको पाईप बिछ्याँउदा शहरमा प्रदुषण बढेको भन्दै शाक्यले त्यसका लागि खाल्डो खन्दै र पुर्देमा आफ्नो कार्यकाल सकिने टिप्पणी गरेका हुन् ।

शाक्यले आफूले महानगरभित्रका समस्या समाधानका लागि प्रयास गरिरहेको पनि दावी गरे । उनले कतिपय अवस्थामा अधिकार क्षेत्र र सरकारी निकायकै असोयोगका काराण समस्या भएको बताए ।

‘यातायात व्यवस्थापनका लागि सडकमा पार्क गरेर यात्रु हाल्नु हुँदैन, पिक एण्ड ड्रपको प्रणाली लागू हुनुपर्छ भनेको लामो समय भयो,’ उनले भने,’ट्राफिक प्रहरीले सहयोग नै गरेन ।’

उनले सडक विस्तारको कामका कारण पनि काठमाडौंमा सडकहरुको हाल अस्तब्यस्त भएको बताए । उनका अनुसार आफ्नो कार्यक्षेत्रमा पर्ने शहरी सडकहरुमा कालोपत्रे गर्न काम सुरु भइसकेको छ । उनले फोहोर व्यवस्थापनमा राज्यले बनाएको नीति कार्यान्यवन नहुँदा दोष जति सबै महानगरुको थाप्लोमा आइरहेको टिप्पणी गरेका थिए ।