‘बदलिदो दशैँ’ (कविता)

प्रकाशित मिति : : आइतवार, अशोज २८, २०७५

एउटा समय थियो । हुन त अहिलेपनि समयनै छ , तर म जुन समयको कुरा गरिरहेछु त्यो समय अहिलेको भन्दा निकै पृथक छ ।

उ बेला दशै केबल दशै मात्र थिएन, थियो बर्ष भरिको उत्साह र उमंगको समिश्रण, घटस्थापनाबाट स्कूल त छुट्टी हुन्थ्यो जुन छुट्टी साविकको भन्दा निकै प्रिय हुन्थ्यो । भाउजुले लिपेको भित्तामा दिदीहरुसंग मिलेर सप्त रंगी पुरेनी बनाइन्थ्यो, काकाले बम्बैबाट ल्याएको क्यासेटमा लोक भाका घन्काईन्थ्यो ।

अर्काको बारिमा भएको मादले काँक्रो नचोरी नछोड्ने चलन हुन्थ्यो, अझ त्यो लट्टे पिङमा मच्चिनुको मजा बेग्लै थियो । लाग्थ्यो त्यही मच्चाईले आफुलाई गगन्चुम्बी बनाईरहेछ, सिङ्गै गाऊ रात भरि चिउरा कुटेको ढिकीको आवाज र भुटेको धानको वासनाले ढाकिन्थ्यो ।

टेपरेकर्डर घन्काउंदै आउने लाहुरे हरु हेर्न मूलबाटो कुरेर बसिन्थ्यो, आजको जस्तो निर्जन कहाँ हुन्थ्यो र ती गोरेटोहरु । टीकाको दिनमा गाउंका मान्यजन भन्दा मामाघर कुद्न हतार हुन्थ्यो, मामाघरबाट फर्कदा अरुभन्दा पनि केही खुजुराले बिशेष महत्त्व पाउथ्यो ।

आजकल त गाउँमा पिङ देखिनै छोडे, टेपरिकर्डर र क्यासेटहरु ढल्काउदै आउने लाहुरेहरु देखिनै छोडे । भान्जाहरु मामाघर आउँदा टिभिमै ब्यस्त हुन थाले, मान्यजनहरु पनि तास र जुवामा ब्यस्त हुन थाले ।

महिनै अघिदेखि टाढा टाढादेखी घर आउने आफन्तहरु पनि टिकाको दिन मात्र घरमा देखिन थाले । समय परिवर्तनशिल छ, छ ती चाडपर्वहरु पनि ।