केन्द्रीय कारागारमा कैदीबन्दीको विद्युतीय हाजिर हुने

प्रकाशित मिति : : बिहिबार, मंसिर ६, २०७५

काठमाडौँ, मङ्सिर ६ । मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा कैदीबन्दीका लागि विद्युतीय हाजिरको व्यवस्था गर्न लागिएको छ ।

विसं १९७१ मा स्थापना भएको सो कारागारमा पहिलोपटक प्रविधिको माध्यमबाट हाजिर गर्ने व्यवस्था गर्न लागिएको हो । कूल दुई हजार ८०२ कैदीबन्दी रहेको उक्त कारागार परिसरभित्र केन्द्रीय, भद्र र महिला गरी तीन वटा जेल रहेका छन् । प्रारम्भमा महिला जेलबाट विद्युतीय हाजिरको एक हप्तापछि शुरुआत गर्न लागिएको हो । महिला जेलभित्र ३१६ कैदीबन्दी छन् । देशैभरि यसप्रकार हाजिरको व्यवस्था गर्ने लक्ष्यअनुसार जगन्नाथदेवलको महिला जेलबाट नमूनाका लागि उक्त व्यवस्था शुरु गर्न लागिएको सो कारागारका जेलर वेदनिधि अधिकारी बताउनुहुन्छ ।

“नमूनाका लागि केन्द्रीय कारागारबाट शुरुआत गर्न लागेका हौँ, यसको आवश्यकता र औचित्य हेरेर क्रमशः देशभरका कारागारमा उक्त प्रविधि लैजाने विभागको लक्ष्य रहेको छ” उहाँ भन्नुहुन्छ । हाल केन्द्रीय कारागारभित्र रहेका केन्द्रीय, भद्र र महिला जेलमा दैनिक तीनदेखि चार पटकसम्म हाजिरीपुस्तिकामार्फत कैदीबन्दीको हाजिर लिने काम हुँदै आएको छ । कुनै पनि कैदीबन्दी नहराउन भन्ने उद्देश्यले हाजिरी अभिलेख बेलाबेलामा लिने गरिएको जेलर अधिकारीको भनाइ छ ।

नयाँ प्रविधिको हाजिरीको लागि केन्द्रीय कारागारले रु एक लाख लागतमा तीनवटा मेशिन खरीद गरी जडानसमेत गरिसकेको कारागारका लेखा अधिकृत कुलप्रसाद रेग्मी बताउनुहुन्छ ।

“महिला जेलभित्र छुट्टाछुट्टै स्थानमा तीन मेशिन जडान गरिएको छ, जसले गर्दा उनीहरुलाई हाजिर गर्न सजिलो हुन्छ”, उहाँ भन्नुहुन्छ । तीनवटा मेशिन भएपछि सबैलाई तीन भागमा विभाजन गरेर बिहान, दिउँसो र बेलुका हाजिर गर्न लगाउने व्यवस्था मिलाइनेछ । झण्डै १०४ वर्ष पुरानो केन्द्रीय कारागारमा यही वर्षको साउनबाट मात्र सिसीटिभी जडान गरिएको थियो । रु १५ लाखको लागतमा केन्द्र र भद्र जेलमा सिसी क्यामरा जडान गरिएको थियो । उक्त सिसी क्यामराको निगरानी प्रहरी र कारागार प्रमुख दुवैले गर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ ।

कारागारले कैदीबन्दीलाई भेट्न आउने आफन्त तथा साथीलाई सजिलो हुने गरी भेट्न पाउने व्यवस्था मिलाउन प्रविधियुक्त पासको व्यवस्था गर्न लागेको छ । अहिले भेटघाट गर्न आउने आफन्त तथा साथीका लागि परिचयपत्र लिएर कागजको चिट उपलब्ध गराउँदै आएको कारागारले प्रविधियुक्त पासको व्यवस्था मिलाउन लागेको हो ।

केन्द्रीय कारागारको सुरक्षाका लागि खटिनुभएका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्मा प्रविधियुक्त हाजिरले कैदीबन्दीको अभिलेख चुस्त दुरुस्त हुने हुँदा सजिलो हुने बताउनुहुन्छ । “विद्युतीय हाजिरले प्रहरीलाई काम गर्न समेत सजिलो हुन्छ”, उहाँ भन्नुहुन्छ । हाल केन्द्रीय कारागारमा एक हजार ४०५ कैदी, एक हजार ३९१ थुनुवा र छ नाबालक छन् । कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्यासमेत उत्पन्न भएको छ । कूल एक हजार ५०० क्षमताको कारागारमा हाल दुई हजार ८०२ कैदीबन्दी रहेका छन् ।

कारागार व्यवस्था विभागका सूचना अधिकारी कृष्णबहादुर कटुवालका अनुसार हाल मुलुकभर ७२ जिल्लामा ७४ कारागार छन् । काठमाडौँ र दाङमा दुई/दुई वटा कारागार छन् । काठमाडौँमा केन्द्रीय कारागार जगन्नाथदेवल र डिल्लीबजार कारागार तथा दाङमा घोराही र तुल्सीपुर दुई स्थानमा कारागार रहेको छ । धनुषा, बारा र भक्तपुरमा अहिलेसम्म पनि कारागार छैन । नयाँ स्थापना भएका दुई जिल्ला नवलपरासी पश्चिम र रुकुम पश्चिममा पनि कारागार छैन । विभागका अनुसार हाल देशभर २० हजारको हाराहारीमा कैदीबन्दी छन् ।