अब गरिबी निवारण कोषको पुर्नसंरचना हुन्छ : उपाध्यक्ष भट्टराई

प्रकाशित मिति : : सोमवार, मंसिर १०, २०७५

काठमाडौँ, मंसिर १० । गरिबी निवारण कोषका नवनियुक्त उपाध्यक्षले आज पदभार ग्रहण गरेका छन् ।

नवनियुक्त उपाध्यक्ष निर्मलकुमार भट्टराईले सोमबार दिउँसो गरिबी निवारण कोषको ताहाचलस्थित केन्द्रीय कार्यालय पुगेर आफ्नो पदभार ग्रहण गरेका हुन् ।

मंसिर ३ गते बसेको मन्त्री परिषदको बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गरेको थियो । त्यस्तै सोमबार नै कोषको नवनियुक्त कार्यकारी निर्देशकको रुपमा छविराज रिजालले पनि पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणपछि अखबार दैनिकसँग संक्षिप्त कुराकानी गर्दै उनले आगामी दिनमा देशको गरिबी निवारण गर्नको लागि अझै छिटो, प्रष्ट र पारदर्शि ढंगले काम गरिने र कुनै अनियमितता भए त्यसलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।

प्रस्तुत छ अखबार दैनिकले गरिबी निवारण कोषका नवनियुक्त उपाध्यक्षसँग गरेको संक्षिप्त कुराकानी :–

गरिबी निवारण कोषलाई कसरी अगाडी बढाउने योजना बनाउनु भएको छ ?

गरिबी निवारण कोषले अहिलेसम्म गरेका कामहरु सह्रानिय नै छन् । यसलाई नेपाल संघीय संरचनामा गइसकेको नयाँ परिवेशमा, संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारहरु कार्यरत भइरहेको बेलामा यो विगतमा केन्द्रीकृत राज्य संरचना भएको बेला शुरु गरिएको गरिबी निवारण कोषलाई पनि पुर्नसंरचना गर्नुपर्ने छ । पुर्नसंरचना गरेर नेपालमा अझैपनि साठ्ठी लाखको हाराहारीमा भएका गरिब परिवारलाई उहाँहरुको उन्नती र प्रगतिको लागि सरकारले एउटा एकिकृत कार्यक्रम तयार गरेर त्यसलाई न्यूनिकरण गर्ने र यो आर्थिक सम्बृद्धिको महाअभियानमा लिएर जाने भन्ने सरकारको अहिलेको योजना छ, अहिलेको रणनीति छ र त्यो रणनीतिलाई हामिले सफलतापूर्वक कार्यान्वयन गर्छौ र त्यसलाई आगामी दिनमा गरिबी निवारणको सन्दर्भमा अझै छिटो काम गरिनेछ । प्रष्ट काम गरिनेछ । पारदर्शि काम गरिनेछ । गरिबको नाममा आएको कुनै एकपैसा पनि अनियमितता भएको छ भने त्यसलाई कानुनी दायरामा ल्याइनेछ ।

गरिबी निवारण कोषभित्रको यसअघिका विकृति विसंगतिहरु प्रति कत्तिको जानकार हुनुहुन्छ ? कसरी सुधार गर्नुहुन्छ ?
म जानकार छु । तर म भर्खर आएको छु मैले अझ अध्ययन गर्नुपर्दछ । यहाँभएका राम्रा कामहरुलाई हामिले प्रवद्र्धन गर्नेछौँ । कमि कमजोरीहरुलाई हामि सच्याउने छौँ । अनियमिततालाई हामि नियन्त्रण गर्नेछौँ ।

गरिबी निवारण कोषले नयाँ सम्झौता गर्ने कुरा के भइरहेको छ ?
नयाँ सम्झौता बारे भन्नुपर्दा विश्व बैंक सँग हाम्रो केही समयपछि कुरा हुन्छ । एउटा सम्झौता सकिन लागेको छ । अब अर्को सम्झौता हुनेकुरा चाहिँ अहिले नै भन्न सकिँदैन । त्यसको तयारीमा हामि छौँ ।