बसको रेडिवाटर पड्किँदा छ घाइते, तीन जनाको अवस्था गम्भीर

प्रकाशित मिति : : आइतवार, मंसिर १६, २०७५

गौशाला, मङ्सिर १६ । ‘शिवचर्चा’ को लागि श्रद्धालु बोकेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको एक बसको रेडिवाटर पड्किँदा आधा दर्जन श्रद्धालु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार शनिबार जलेश्वरबाट सुन्दरपुर जाँदै गरेको ज१ख ८७४ नंको बसको सम्सी गाउँपालिका – ८ स्थित सडकखण्डमा अचानक रेडिवाटर पड्किँदा चालकसहित आधा दर्जन श्रद्धालु घाइते भएका छन् ।

घाइतेमध्ये जलेश्वर नगपालिका–१ की ५० वर्षीया सतिया देवी, वडा नं ८ की ५५ वर्षीया लीला देवी र बलवा नगरपालिका–४ की ५५ वर्षीया परेखनी देवीको अवस्था गम्भीर रहेको छ । साथै बसका चालक विजय मण्डल र अन्य दुई जना पनि घाइते छन् । घाइतेहरुको उपचार धनमति देवी मेमोरियल प्राथमिक उपचार केन्द्र सम्सीमा भइरहेको छ ।

जलेश्वरबाट सुन्दरपुर जाँदै गरेको शिवचर्चा श्रद्धालु बोकेको बसको रेडिवाटर अचानक पड्किँदा रेडिवाटरको तातोपानी बसभित्र बसेका श्रद्धालुहरुको जीउ, हातखुट्टा, अनुहारलगायतका भागमा परेपछि जलेर उनीहरु घाइते भएका थिए ।