“शाह रुख खान” का एक फ्यानको बकपत्र 

प्रकाशित मिति : : आइतवार, पुस ८, २०७५

“शाह रुख खान”का बारेमा म जति लेख्न सक्छु त्योभन्दा कयौं गुना बढी जान्दछु । म यतिकुरा यकिनका साथ भन्न सक्छु कि यदि शाह रुख खानमा कुनै डिग्री हुन्थ्यो त म नै त्यस डिग्रीको गोल्ड मेडलिस्ट हुन्थे । यो कनेक्सन भन्ने कुरा पनि अचम्मको हुँदो रैछ, जोडियो त सो जोडियो । त्यसपछि किन, कसरी भन्ने प्रश्न नै हुँदैन । कुनै कुराहरू यस्ता हुन्छन् जो जन्मसिद्ध नै अस्तित्व ग्रहण गर्ने गर्छ । तर केही कुराहरु यस्ता पनि हुन्छन् जुन कालान्तरमा गएर बिनाकारण भैदिन्छ । निहित स्वार्थमा लिप्त भएर क्षणिक आनन्द दिने कुराहरू भन्दा निश्छल र निस्वार्थ कुराहरुनै बढी जिवन्त हुन्छन् । सो कुराको तात्पर्य के हो भने, क्षणिक आनन्द र सन्तुष्ट दिने कुराहरू आफैंमा स्वयं क्षणिक हुन्छन् किनभने तिनीहरुको आयु भनेको केबल स्वार्थ पुरा नगरुन्जेलसम्म मात्र हुन्छ । तर जुन कुराको कुनै स्वार्थ र कामवासना हुँदैन त्यो कुरा अनन्त कालसम्म पनि जिवन्त भैनैरहन्छ । मेरो शाह रुख खान प्रतिको झुकाव अझ भन्नुपर्दा हार्दिकता पनि यहि नै हो । म बेलाबखत सोच्ने गर्छु, शाह रुख खानको नाम संग यति विघ्न घनिष्ट किन हुन गए ? सायद पुर्व जन्ममा केहि सम्बन्ध हुनुपर्छ हाम्रो । अनि फेरि सोच्ने गर्छु, दुनियाँमा शाह रुख खान प्रती म जस्तै सद्भाव राख्ने करोडौं छन्, के तिनीहरुको  पनि शाह रुख खान सँग सम्बन्ध कायम थियो ?
म शाह रुख खान बारे लेख्न रातको एघार बजे आँखा मिच्दै ल्यापटपको किबोर्डमा किन औंला चलाउँदै छु, त्यो कुरा बारे म स्वयम् नै अनबिज्ञ छु । यसरी अनबिज्ञ हुँदाहुँदै पनि मेरो अन्तरमनले शब्दहरु एकपछि अर्को गर्दै व्यक्त गरिरहेछन् । शाह रुख खानको नाम सँगको सामीप्यताले मलाई मात्र हैन मेरो हृदयको अन्तकरणलाई समेत आफ्नो अधिनमा पारेको छ । यी सबै कुराले के निर्क्योल गर्छ भने शाह रुख खान मेरा लागि ड्रग्स हुन र म उनको लतमा नमजासँग परिसके । दुनियाँको कुनै पनि सुधार गृह र पुर्नस्थापना केन्द्रले मलाई त्यस लत बाट छुटाउन सक्दैन ।
शाह रुख खानको फिल्मी दुनियाँसँगको चर्चा र सफलता बारे हामी सबै परिचीत नै छौं । आफ्नो मनोहर कला र प्रतिभाले सारा संसारको मन जितिसकेका छन् उनले । उनको आकर्षक मुहारमा आज पनि ठुलो जमात पागल छ । उनको एक झलक पाउन तड्पिनेहरु कयौं छन् । उनलाई नभेटे पनि केबल उनको घरको गेटसम्म पुगेर धित मार्ने प्रसंसकहरु पनि धेर्की छन् । अझ मैले कस्तोसम्म प्रसंसक देखेको छु भने “शाह रुख खानलाई भेटेर जोरसँग अंगालो हाल्ने नै तिनीहरु जिवनको लक्ष्य भएको मान्दछन् ।
तर म भने आफुलाई साविकको भन्दा निकै भिन्न र पृथक प्रसंसक मान्दछु, किनभने म कहिलै शाह रुख खानलाई भेट्न त परको कुरा प्रत्यक्ष हेर्न पनि चहान्न । मैले यसो भनिरहँदा आम सबैलाई लाग्न सक्छ यो त शाह रुख खानको प्रसंसक हैन रहेछ । तर यथार्थमा शाह रुख खानको म जत्तिको पागल प्रसंसक कोहि छैन भन्ने मेरो बुझाई रहिआएको छ । मैले शाह रुख खानलाई भगवानको संज्ञा दिएको छु । शाह रुख खान प्रती मेरो भगवानको जस्तै आस्था छ । आम मानिसहरू भगवान प्रती जस्तो आस्था राख्छन् म त्यस्तै आस्था शाह रुख खान प्रती राख्छु । भगवान तबसम्म मात्र भगवान रहन्छन् जबसम्म उनि अदृश्य हुन्छन् । जब भगवान पनि सादृश्य भएर आफ्नो भक्तजनहरु माझ उपस्थित हुन्छन् तब भगवान स्वतह भगवान हुनुको हक गुमाउन पुग्छन् । आम मानिसमा ऊनी प्रतिको बिश्वासमा ह्रास आउन सक्छ । मैले पनि शाह रुख खानलाई आफ्नो आँखा अगाडी पाए भने भगवानको जस्तै उहाँ प्रतिको मेरो आस्थामा विघटन आउन सक्थ्यो । म कुनैपनी हालत मेरो शाह रुख खान प्रतिको आस्थामा समाप्ति ल्याउन चहान्नथे । दुनियाँको नजरमा शाह रुख खान केबल एउटा कलाकार होलान् तर मेरा लागि त उनी शाश्वत भगवान सरह थिए ।
एउटा सामान्य मान्छे बाट बलिउडकै चर्चित एवम् लोकप्रिय सुपरस्टार बन्दा सम्मका तिता-मिठा यथार्थ धेरै छन्, जुन आँफैमा कुनै अलिसान चलचित्रमा देखाईने कथावस्तुभन्दा कम छैनन् । धेरै दु:ख कष्ट सहेर बलिउडकै बलिउडमा एकछत्र राज गर्न सफल उनी आफ्नो सफलताको श्रेय आफ्ना फ्यानहरुलाई दिने गर्छन् । उनले सुरुका दिनहरूमा गरेको संघर्ष साँच्चिकै प्रेरणादायी छन् । उनले आफ्नो जिन्दगिलाई शुन्यताबाट जुन उचाई दिए त्यो सायदै कसैले हाँसिल गर्न सक्छन् ।
“शाह रुख खान” भनेको सुन्दानै  मनमा छुट्टै तरङ्ग पैदा हुन्छ । त्यो किन भने, बिज्ञानको एनाटोमी सिद्धान्त अनुसार ‘कुनै कुरालाई धेरै प्राथमिकता दियो या तिनीहरुसँग बढी घनिष्ट भयो भने तिनीहरुको नाम सुन्ने बित्तिकै वा उच्चारण हुनासाथ हाम्रो शरिरमा एक प्रकारको हर्मोनको उत्पति हुन्छ जसले हाम्रो शरिरमा छुट्टै सकारात्मक उर्जा पैदा गरिदिन्छ । म पनि शाह रुख खानको नामसँग निकै घनिष्ट एवम् परिचीत हुन पुगेको थिए । हुन पनि त्यस नाममा कुनै अलौकिक शक्ति हुनुपर्छ, मजस्तो हरिलट्ठको मन जितेको थियो । शाह रुख खानको बारेमा सोच्दै जाँदा मन आफैं प्रफुल्ल भएर आउँछ । उनको त्यो डिम्पल पर्ने हँसिलो मुहार, त्यो दुबै हात फैलाउँदाको मनोरता, त्यो मुस्कान र त्यो लजालु आँखा अनि के चाहियो र यो मनलाई ब्याकुल बनाउन ? शाह रुख खान मेरा लागि चलचित्रका मात्र नभएर वास्तविक जिवनको पनि नायक हुन् । मैले धेरै भन्दा धेरै कुराहरू शाह रुख खानको जीवन बाट सिकेको छु । मैले जिवनमा केही हाँसिल गर्न संघर्ष अनिवार्य रुपमा गर्नुपर्छ, आफुले चाहेको कुरा प्राप्त गर्न साँचो तन-मनले चहानुपर्छ, आमाबुबा भन्दा सर्वश्रेष्ठ यो दुनियाँमा केहि पनि हुदैनन्, आमाको बचन नै जिवनको परम सत्य हो, भन्ने जस्ता निकै महत्वपूर्ण कुराहरू सिकेको छु । शाह रुख खानको कथा र ब्यथाहरु दुबै एक शब्द वा विशेषणमा व्यक्त गर्न कदापि सम्भव छैन । उनको महानतालाई प्रतिबिम्बित गर्ने कुनै शब्द आम शब्दकोषमा फेला पार्नु भनेको सिसिफसको कार्यजस्तै मुस्किल छ । कहिलेकाहीँ म सोची बस्छु, किन म शाह रुख खानमा यति विघ्न पागल हुन पुगे ? अनु फेरि सोच्छु, शाह रुख खानले एउटा चलचित्रमा भनेका थिए, “यदि तिमी आफ्नो मनले भनेको कुरा अंगालेर त्यसलाई आत्मसात गरेका छौ भने त्यो नै सहि छ, दुनियाँको बहकाउमा नपर आफ्नो कुरामा अडिग हौ ।” त्यसपछि मलाई लागेर आउँथ्यो मेरो लागि शाह रुख खान प्रतिको यहि पागलपन नै ठिक छ । मेरो मनले यहि पागलपनलाई उपयुक्त मान्छ, म यसौलाई अंगालेर आत्मसात गर्छु ।
पहिलोपल्ट मैले शाह रुख खानलाई ‘स्वदेश’ नामक हिन्दी चलचित्र हेर्ने क्रममा देखेको थिए । त्यस चलचित्रमा उनी एक बैज्ञानिकको भुमिकामा देखिन्छन् । उनी आफ्नो कामबाट छुट्टि लिएर जब अमेरिका देखी आफ्नो गाउँ पुग्छन् तब उनी आफ्नो गाउँ र देशको दुर्दशा देखेर निकै चिन्तित हुन्छन् । त्यसपछि उनी निकै तल्लीन भएर आफ्नो गाउँको बिकास गर्नमा लाग्छन् । त्यसका लागि उनले आफ्नो अमेरिकामा भैरहेको राम्रो जागिर समेत छोड्छन् । उनले आफ्नो क्षमता र पहुँचले भ्याएजती आफ्नो गाउँलाई समृद्धि र बिकासको बाटोमा डोर्‍याउने निकै सफल प्रयास गरे । उक्त चलचित्रमा हाँसो लाग्ने र आँसु तुरुक्कै चुहाउने दृष्यहरु प्रशस्तै थिए । आफ्नो मातृभूमि प्रतिको अपार माया र देशभक्ति झल्काईएको त्यस चलचित्रले ममा पनि केही प्रभाव जमाएको थियो । त्यसयता मैले शाह रुख खानको चलचित्र खोजी खोजी हेर्न थाले । जति जति म शाह रुख खानको चलचित्रहरु हेर्न थाले त्यतिनै नयाँ नयाँ कुराहरू सिक्दै गए । चलचित्रम दर्शाईएका केही राम्रा कुराहरूलाई मैले आफ्नो ब्यबहारिक जिवनमा अनुकरण गर्न समेत भ्याए । शाह रुख खानलाई पाएपछि म उही पुरानो बिशाल रहिन । म एउटा नयाँ बिशालमा परिणत भैसकेको थिए । शाह रुख खानलाई चिन्नुभन्दा पहिला म फगत एउटा झुँसिलिकिरामा सिमित थिए । आफ्नो पेटको सहाराले घिस्रदै हिड्ने गर्थे म । तर जब मैले शाह रुख खानलाई चिने तब म झुँसिलिकिरा रहिन, अस्तित्व र अनुग्रहको समिश्रणले म पुतलिमा परिणत भए । अब उप्रान्त मलाई पेटको सहाराले घस्रेर हिँडिरहनु पर्दैन । म जतिबेला पनि खुला आकाशमा निर्धक्कसँग उडिँरहन सक्छु ।
मलाई साथिभाई, घरपरिवार, छर छिमेक सबैले अक्सर प्रश्न गर्ने गर्छन्, “आखिर तैंले के पाईस शाह रुख खानको फ्यान भएर ?” म मुस्कुराउँदै उत्तर दिन्छु “चल तु नहि सम्झेगा ।” म परिक्षामा फेल हुँदा होस् वा कुनै काम बिगार्दा होस्, मलाई सजाय शाह रुख खानको नामसँग जोडेर दिईन्थ्यो ।
मैले मोबाइल, सुत्ने कोठाको भित्तामा, कम्प्युटर लगायत ठाउँहरुमा शाह रुख खानको फोटो सजाएको थिए । जब जब जिन्दगी देखी बिरक्त लागेर आउँथ्यो तब उनको फोटोमा हेर्दै उनको जिवनमा आएका उतारचढाव बारे मनन गर्थें, अनि ममा पनि प्रेरणा र हौसला थपिएर आउँथ्यो । म खाँदा, बस्दा, उठ्दा, सुत्दा, हर बखत, हर क्षण शाह रुख खानकै बारेमा सोच्ने गर्छु । अरुको दिमागमा के हुन्छ थाहा छैन तर मेरो दिमागमा भने केबल शाह रुख खान बिराजमान थिए ।
शाह रुख खानको नामसँग अनगिन्ती तिता-मिठा यादहरु गाँसिएका छन् । बेलामौकाम म ती यादहरुलाई आफ्नो मस्तिष्कमा उतार्ने असफल प्रयत्न गर्छु । नराम्रो कार्य गरेको भए पनि मलाई ती यादहरुले एउटा छुट्टै प्रकारको आनन्द प्रदान गरिरहेको हुन्थ्यो । मलाई एउटा सानो प्रिय भनौं या अप्रिय, एउटा रमाइलो घटना याद छ….
म कक्षा नौ पढ्दा ताकाको कुरो हो । स्कुलले माध्यामिक तहका बिद्यार्थीहरुलाई होस्टेल अनिवार्य गरेको थियो । म पनि होस्टेलमै बसेर पढ्ने गर्थे । सायद साउनको महिना थियो, त्यसैबेला शाह रुख खानको ‘चेन्नाई एक्सप्रेस’ नामक चलचित्र रिलिज भएको रहेछ । उक्त चलचित्रको प्रदर्शन मिति बारे त म पहिलैदेखी बिज्ञ थिए । होस्टेलमा भएकोले फिल्म हेर्ने मौका भने मिलेन । एकदमै अफसोस लागेर आयो । शाह रुख खानको चलचित्र फस्ट डे फस्ट सो हेर्न आतुर हुने म त्यसदिन चाहेर पनि फिल्म हेर्न पाईरहेको थिईन । अरु केहि नभएर होस्टेल नै मेरा लागि खलनायकको रुपमा उभिएको थियो ।
मेरो मनमा एउटा उटुङ्ग्याहा बिचार आयो । एउटा मिल्ने साथीसँग कुरा मिलाएर राती उसैको घरमा ‘चेन्नाई एक्सप्रेस’ हेर्ने बन्दोबस्त मिलाए । त्यस साथिको घर स्कुलबाट नजिक भएकाले उ होस्टेलमा बस्दैनथ्यो, नत्र भने हाम्रो कक्षाका सबैका लागि होस्टेल अनिवार्य थियो । राती होस्टेलबाट भागेर उसकै घरमा चेन्नाई एक्सप्रेस हेर्ने निधो भयो ।
होस्टेलमा बेलुका खाना खाएपछि सँधै दुई घण्टा पढाई हुन्थ्यो र त्यसपछि पढ्न मन लाग्ने पढ्थे र सुत्न मन लाग्ने सुत्ने गर्थे । बेलुकी पख खाना पछिको पढाई सकेर सबै सुत्न कोठातिर लागे । म भने सँगै पढ्ने गरेको एउटा रुममेट थियो, उसलाई सबै वृतान्त बताएर होस्टेलबाट भाग्ने निष्कर्षमा पुगे । योजना मुताबिक म होस्टेल पछाडिको पर्खाल नाघेर भाग्न सफल भए ।
त्यो साथिको घर होस्टेलबाट यस्तै एक किलोमीटर जति टाढा थियो । केही बेरको हिँडाईपछी म साथिको घर सकुशल पुगे । साथि पनि मलाई नै पर्खदै रैछ । हामीले स्कुलमा दिउँसो बनाएको योजना अनुसार साथिले ‘चेन्नाई एक्सप्रेस’ हेर्ने पुरै बन्दोबस्त मिलाएको रहेछ । हामी दुबै जनाले उक्त फिल्म बडो चाख दिएर हेर्यौ । फिल्म हेर्दै गर्दा कताकता डर पनि लागिरह्यो । म भागेको कुरा वार्डेनले थाहा पाए भने त मेरो खैरेत बाँकी रहदैनथ्यो । फिल्म सकिएपछी साथी भुसुक्कै निदायो मलाई भने एकचोटिको हेराईले धित नै मरेन त्यसमाथि वार्डेनको डरले निन्द्रा पनि लागिरहेको थिएन । मैले पुनः एकचोटि फिल्म हेरेँ । दोस्रोपटक फिल्म सकिदा त बिहानको साँढे दुई बजिसकेको रैछ । साथिलाई जानकारी गराएर म त्यहाँबाट होस्टेल फर्किए । म होस्टेल पुग्दा यस्तै तीन बज्न लागेको हुँदो हो । तीन बजे तिर सुतेर छ बजे अलार्म बजेको सुनेर उठे । रुममेट साथी पनि उठ्यो र मलाई एक्कासि देखेर हस्याङ-फस्याङ गर्न लाग्यो । उसले सुनायो, म राती होस्टेलबाट भागेको कुरा वार्डेन सरले थाहा पाएछ्न् । राती रुम चेक गर्न वार्डेन हाम्रो रुममा पनि आएका रैछन् । मलाई नदेखेपछी पुरै होस्टेलमा खोजेछन् र कतै नभेटेपछि म होस्टेलबाट भागेको निश्चित भएका रैछ्न् । वार्डेनले रातिनै घरमा फोन गर्न समेत भ्याएछन् । यहाँनीर चाहिँ अलि दुख लाग्यो । घरमा तनाब थपियो त्यसमाथि अब मैले गाली पाउँछु घरबाट ।
भोलिपल्ट बिहानै म आएको थाहा पाएर वार्डेनले मलाई अफिस रुममा बोलाउनुभयो । म अफिस रुममा पुग्ने बित्तिकै सरले सबैकुरा सोध्नुभयो । मैले जसोतसो कुरालाई टार्ने असफल प्रयास गरिरहेँ । वार्डेनले मलाई झापार्नुसम्म झपारे । लामो समयको केरकार पछि मलाई एउटा निवेदन जस्तो कागजको पुच्छारमा हस्ताक्षर गर्न लगाईयो । मैले अड्कल गर्न भ्याए कि मलाई होस्टेलबाट एक हप्ताको लागी निलम्बन गरिदैँ थियो । तर पनि मलाई कताकता खुशी लागिरहेको थियो । मैले शाह रुख खानको प्रदर्शनकै क्रममा रहेको फिल्म हेरिसकेको थिए । अरु केहि नभएपनि म साथीहरूलाई ‘चेन्नाई एक्सप्रेस’को गफ लाएर आफ्नो सान बढाउन सक्थें ।
“बिशाल दत्त भट्ट”