“तालिम केन्द्र”

प्रकाशित मिति : : आइतवार, पुस ८, २०७५

आमा… ए आमा… सुन्दै छौ म बोलेको ?? हँ ??? म तिम्री छोरी बोल्दै छु… बोल्दिनन त हौ बुढी फेरि… सुनन आमा… समय कति चाँडो बित्दो रैछ हगि ? बुबा का ती लाखौ शुक्रकिट हरुलाई उछिनेर तिम्रो त्यो अण्डसम्म सबै भन्दा पहिले आईपुग्न सकेर तिम्रो यस तालिम केन्द्र “गर्भ” मा भर्ती भएको पनि आज चार महिना भईसकेछ हेरन मैले त पत्तै नपाको, हुन त यस्तो रमाइलो र मज्जाको तालीम केन्द्र मा तालिम गर्न पाउदा कसले पो समय बित्या चाल पाउँछ होला र? आमा तिमिलाई थाहा छ, मलाई बाहिर कस्तो होला भनेर हेर्न कस्तो आतुर भैराछ मलाई बाहिर को सन्सार हेर्न कस्तो रहर लाईराछ, तर के गर्नु म अझै त्यो लायक को भैसकेको छैन। आमा बाहिर एकदम फोहोर र धुवाधुलो छ हो? कहिलेकाही यहाँ समेत फोहोरको गन्ध अनि धुलो आउंछ त्यस्तो हुदा मलाई सास फेर्न कस्तो गारो हुन्छ मेरो बिन्ती छ आमा यो तालिम केन्द्र को बाहिर वरिपरि चाई फोहोर धुलोमैलो नगरिदिनु है। जे होस अब ६ महिना बाँकी छ अनि त म पनि ‘pass out’ भैहाल्छु नि। अनि त बाहिरी संसार सबै म आफै हेर्छु हाहा मलाई सम्झिदै कस्तो खुसि लाईरा छ। आमा म कस्ती हुन्छु होला है राम्री, नराम्री… हे जस्तो सुकै हुम् अनुहार मा के राख्या हुन्छ र अनुहार त एकदिन सबैको चाउरि नै पर्ने हो क्यारे। म त स्वभाव ले राम्री हुन्छु। आमा मलाई कहिलेकाहीँ डर लाग्छ कतै तालिम गर्दागर्दै म अपाङ्ग पो हुने हुँ कि ! तर केहि छैन शरीर अपाङ्ग भएर के भो त मेरो बुद्दी अपाङ्ग हुन दिन्न म, शरिर अपाङ्ग भएर केही हुन्न यदी बुद्दी अपाङ्ग भएन भने ‘हेलेन केलर, ‘स्टेफन हकिंङ|, ‘झमक कुमारी घिमिरे’, ‘सृष्टि केसी, यिनिहरु पनि शारीरिक अपाङ्ग त हुन नि तर, पनि यिनिहरुले संसारमा भिन्नै इतिहास बनाएका छन। आमा तिमी सारै भाग्यमानी रैछ्यौ नि बुढी, कि म जस्ती छोरी पाएकी छौ। तिमिलाई थाहा छ आमा म यहाँ तालीम केन्द्र मा… संसार कै सबै भन्दा अग्लो शिखर सगरमाथा चढ्ने पहिलो नारी ‘जुन को ताबेइ’ जस्तै साहस बटुल्ने तालिम गर्दै छु, पृथ्वी सतह भन्दा बाहिर पाईला राख्ने पहिलो नारि ‘भ्यालेन्टिना टेरेस्कोभा’ जस्तै आँटिली बन्ने तालिम गर्दै छु । नोबल पुरस्कार बाट सम्मानित हुने ती संसारकै प्रख्यात महिला वैज्ञानिक ‘म्याडम क्युरि’को जस्तै तेजिलो दिमाग बनाउने तालिम गर्दै छु । संसार कै पहिलो महिला रास्ट्रपति ‘सिरियामो बन्दर्नाईके’ ले जस्तै भाषण गर्ने तालिम गर्दै छु । संसार कै प्रख्यात महिला समाजसेवी ‘मदर टेरेसा’ जस्तै निस्वार्थी बन्ने तालिम गर्दै छु । सन्सारकै प्रख्यात नर्स ‘फ्लोरेन्स नाईटेङ्गल’ को जस्तै कोमल र निश्छल मन बनाउने तालिम गर्दै छु, ‘सि. एन. एन ‘हिरो अफ द ईयर’ बाट सम्मानित हुने हाम्रो नेपाल कि ति माईती नेपाल कि अध्यक्ष ‘अनुराधा कोईराला’ जस्तै बन्ने तालिम गर्दै छु । यस्तै अन्य धेरै तालीम हरु गर्दै छु आमा म। हो ! मलाई यहाँ गारो भैराछ यी सब तालीम गर्न र पनि म हार खान्न आमा म गर्छु किनभने मलाई धेरै कुरा गर्न मन छ । हो मलाई धेरै कुरा गर्न मन छ, मलाई मेरै पाला मा संसारबाट छुवाछूत भेदभाव हटाउन मन छ, मलाई मेरै पालामा संसारबाट हत्याहिंसा बन्द गराउन मन छ, मलाई मेरै पाला मा संसारभरी बाट गरिबी हटाउन मन छ, मलाई मेरै पाला मा संसारभरी शान्ति फैलिएको हेर्न मन छ… हो मलाई थाहा छ यो सब गर्न मुस्किल छ तर असम्भव पनि त छैन… म गर्छु आमा म हिम्मत हार्दिन अन्तिम सास रहुन्जेल सम्म प्रयास गर्नेछु र यो बदलाब ल्याएरै छाड्नेछु । अनि एक दिन तिमी गर्व का साथ छाती फुलाएर मलाई औल्याउदै भन्ने छौ म यसकी आमा हु तर मेरो बिन्ती छ आमा छोरी जन्मिन लागि भनेर गर्भपतन गरि मलाई र मेरो चाहना लाई चाई नमारिदेउ है। कृपया आमा म संसारको लागि जरुरत छु ।

-दिपेश रिमाल