सभामुख महराद्वारा श्रद्धाञ्जलि व्यक्त

प्रकाशित मिति : : आइतवार, पुस ८, २०७५

रोल्पा, ८ पुस (रासस) : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गत शुक्रबार सल्यानमा भएको बस दुर्घटनामा परी दिवङ्गत भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । रोल्पा प्राविधिक शिक्षालयमा आज आयोजित शोकसभामा सभामुख महराले मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उपचारमा यथोचित व्यवस्था गर्नुपर्ने धारणा राख्नुभएको थियो । सभामा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा, रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, शिक्षालयका शिक्षक, कर्मचारी, विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

गत शुक्रबार सल्यानको कपुरकोटस्थित मूलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरी तुल्सीपुर फर्कँदै गर्दा गाडी दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी सो शिक्षालयका २३ जनाको मृत्यु हुनुको साथै १४ जना गम्भिर घाइते भएका थिए । घटनामा परी रोल्पा परिवर्तन गाउँपालिकाका– १७ वर्षीय प्रकाश वली समेत घाइते भएको बताइएको छ ।