राजधानीका विषयमा मतान्तर नगरौँ : काङ्ग्रेस

प्रकाशित मिति : : बिहिबार, माघ ३, २०७५

रुपन्देही, माघ  ३ ।   नेपाली काङ्ग्रेसका नेताहरुले प्रदेश नं– ५ को स्थायी राजधानी तोक्ने विषयमा मतान्तर नगर्न आग्रह गर्नुभएको छ । उहाँहरुले शान्तिका अग्रदूतको जन्मस्थान लुम्बिनी भएकाले यो ठाउँलाई सबै जिल्लासँग जोडेर समृद्ध प्रदेश निर्माण गर्न बुटवल राजधानी उपयुक्त भएको बताउनुभयो ।

संविधान कार्यान्वयन, सुशासन, शान्ति सुरक्षा एवं प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको माग गर्दे काङ्ग्रेस रुपन्देहीले आज बुटवलमा आयोजना गरेको खबरदारी सभामा नेताहरुले प्रदेश राजधानी बुटवल र नामकरण लुम्बिनी राख्नुको विकल्प नभएको बताउनुभयो । कांङ्ग्रेसका केन्द्रीय सदस्य तथा दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश नं– ५ को विकास समृद्धिका लागि स्थायी राजधानी बुटवल नै उपयुक्त हुने बताउनुभयो ।

बुद्धको जन्मस्थलबाट नेपाल विश्वमा चिनिएको बताउँदै उहाँले यही स्थानमा राजधानी बनाउन नसकिए प्रदेशका लागि दुर्भाग्य हुने बताउनुभयो । काङ्ग्रेसले हचुवाको भरमा बुटवललाई स्थायी राजधानी बनाउन माग गरेको छैन, उहाँले भन्नुभयो, “प्राकृतिक, भौगोलीक सबै हिसाबले बुटवल ठिक छ, यहाँबाट सार्ने षड्यन्त्र नहोस् ।”

केन्द्रीय सदस्य चन्द्र भण्डारीले पहाड र तराईलाई जोड्ने काम गरेकाले बुटवल राजधानी सही हुने जिकिर गर्नुभयो । अर्का केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले काङ्ग्रेस नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको एक वर्ष हँुदा पनि स्थायी राजधानी नतोकिनु गैर जिम्मेवारी भएको तर्क गर्नुभयो ।

प्रदेशसभा सदस्य रमा अर्यालले दुरगामी प्रभाव हेरेर छिटो प्रदेश राजधानीको टुङगो लगाउनुपर्ने बताउनुभयो । दलका नेता बलदेव शर्मा पोखरेलले संसद्मा प्रतिपक्षको हैसियमा सशक्त भूमिका निर्वाह गरेको धारणा राख्नुभयो । सभामा काङ्ग्रेसका जिल्ला अध्यक्ष अब्दुल रज्जाक, भुवन श्रेष्ठ, विष्णु मुस्कान, नगर अक्ष्यक्ष खेलराज पाण्डे, जिल्ला नेता रामकृष्ण खाँण लगायतले लुम्बिनी प्रदेश र स्थायी राजधानी बुटवलका लागि काङ्ग्रेसले निरन्तर खबरदारी गर्ने बताउनुभयो ।

अस्थायी राजधानी घोषणाको वर्षगाँठको अवसर पारेर आयोजना गरिएको खबरदारीसभा अघि बुटवलको राजमार्ग चौराहबाट वृहत् ¥याली निकालिएको थियो । यसअघि माघ ३ गतेकै दिन काङ्ग्रेस सभापति शेरबहादर देउवा प्रधानमन्त्री भएका बेला बुटवललाई प्रदेश नं ५ को अस्थायी राजधानी घोषणा गरीएको थियो ।