किसान दुग्ध उद्योगतर्फ आकर्षित

प्रकाशित मिति : : बिहिबार, माघ १०, २०७५

मङ्गलबारे, १० माघ – फाकफोकथुम गाउँपालिकाका किसानले डेरी उद्योगमा दूध बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

यहाँको फूएतप्पा, आमचोक, फाकफोक, एकतप्पा, लुम्देका किसानले व्यावसायिक गाईपालन गरेर डेरीमा दूध बिक्री गर्दै व्यावसायिक बन्न थालेका हुन् । दूध बिक्री गरेर यहाँका किसानले मासिक रु २० हजार देखि ४० हजारसम्म आम्दानी गरिरहेका हुन् ।

व्यावसायिक गाईपालनमा कृषकको आकर्षण थपिएसँगै आम्दानी गर्ने उद्देश्यले दुग्धजन्य उद्योग खुल्ने क्रम बढेको छ । कृषकले दूधबाट घ्यू, छुर्पी, ललिलपलगायत सामग्री आफैँ उत्पादन गरेर बिक्री गर्ने क्रम बढेको हो ।

यस गाउँपालिकामा करीब ५० भन्दा बढी डेरी उद्योग दर्ता भएर सञ्चालनमा छन् । यहाँका प्रत्येक किसानले दैनिक १० देखि ४० लिटरसम्म दूध उत्पादन गरिरहेका छन् । डेरी उद्योगले कम्तीमा १०० लिटरदेखि एक हजार लिटरसम्म दूध प्रशोधन गरिरहेका छन् । आफैँ प्रशोधन उद्योग खोलेर सञ्चालन गर्दा स्थानीय बासिन्दालाई रोजगारी दिन सकिने र आम्दानी पनि राम्रो हुने व्यवसायीको भनाइ छ । “अमेरिकामा छुर्पी निर्यात हुने र घ्यूको मूल्य पनि राम्रो भएकाले मिहेनतअनुसार कमाइ गर्न सकिएको छ”, फूएतप्पास्थित तालखर्क डेरी उद्योगका सञ्चालक कमल थापा मगरले भन्नुभयो । गाउँगाउँ पुगेर व्यापारीले घ्यू प्रतिकिलो रु ५०० र छुर्पी ८०० मा खरीद गर्ने गरेका छन् ।

तालखर्कका किसानले उन्नत जातका गाईपालन गरेका छन् । जर्सी, होलिस्टिन जातका उन्नत जातका पशु पालेका छन् । तालखर्क डेरी उद्योगले दैनिक ८०० लिटर गाईको दूध प्रशोधन गर्दै आएको उहाँ बताउनुहुन्छ । “किसानको दूधको गुणस्तर हेरेर प्रतिलिटर ४० देखि ४५ लिटरसम्म मूल्य दिन्छौँ, किसान पनि खुशी छन्”, उहाँ भन्नुहुन्छ, “घ्यू र छुर्पीको मूल्य नघटेको भए किसानलाई धेरै फाइदा हुन्छ ।” यहाँ किसानले दैनिक १५ देखि २५ लिटरसम्म दूध ल्याउँदै आएका छन् । तालखर्कका जगत खडकाले दैनिक २५ लिटर दूध डेरीमा बिक्री गर्नुहुन्छ । “दुई माउ गाईको दूधले दैनिक एक हजार आम्दानी हुन्छ” उहाँ भन्नुहुन्छ, “दुई माउ गाईको आम्दानीले वर्षभरि खान लगाउन पुग्छ ।”

फूएतप्पाकै कर्णबहादुर राईको डेरी उद्योगमा पनि करीब ३५ कृषकले दैनिक ३०० लिटरभन्दा बढी दूध ल्याउँछन् । किसानलाई ‘फ्याट’ र ‘एसएनएफ’को आधारमा ३५ देखि ४० लिटरसम्म दूधको मूल्य दिने गरेको राई बताउनुहुन्छ । “किसानले गुणस्तरीय दूध ल्याउँछन् र मूल्य पनि आकर्षक नै पाउँछन् ।”

त्यस्तै एकतप्पाका सरोज खनालले पनि दैनिक २०० लिटरभन्दा बढी दूध प्रशोधन गर्नुहुन्छ । उहाँ आफैँले पनि गाईभैँसी फार्म सञ्चालन गर्नुभएको छ । जिल्ला पशुसेवा कार्यालयले इलाममा दैनिक तीन लाख ३६ हजार लिटर दूध उत्पादन हुँदै आएको जनाएको छ । त्यसमध्ये घरायसी प्रयोजनमा खर्च हुने दैनिक डेढ लाख लिटर दूधबाहेक सबै बिक्री हुन्छ । बिक्री हुने दुई लाख लिटर दूधमध्ये ठूलो हिस्सा स्थानीयस्तरमा खुलेका उद्योगमा खपत हुने गरेको छ ।

यसअघि दैनिक ४० देखि ५० हजार लिटरसम्म दूध विराटनगरस्थित दुग्ध वितरण आयोजनामा जाने गरे पनि यो क्रम घटेको छ । कृत्रिम गर्भाधानबाट उन्नत गाईको सङ्ख्या बढेसँगै दूधको उत्पादन पनि बढ्दै गएको फाकफोकथुमका पशुसेवा शाखा प्रमुख परशुराम अधिकारी बताउनुहुन्छ ।

आफ्नै उद्योग सञ्चालन गर्ने कृषकका लागि उपकरण खरीद, डेरी प्रवद्र्धन, नश्ल सुधारमा शाखाले किसानलाई अनुदान दिँदै आएको समेत उहाँको भनाइ छ । निजी उद्योगको वृद्धिसँगै चिस्यान केन्द्र पनि सामुदायिकस्तबाट खुल्ने क्रम बढ्दो छ । समुदायस्तरबाट जिल्लामा आठ वटा र संस्थानअन्तर्गत आठ वटा चिस्यान केन्द्र सञ्चालनमा छन् ।
माटोमा अम्लीयपनाको मात्रा बढी

इलामको फाकफोकथुम गाउँपालिकाको माटामा अम्लीयपना बढी भएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले यहाँ सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा कृषि ज्ञान केन्द्रमा किसानले ल्याएको माटोको नमूना परीक्षण गर्दा अम्लीयपना बढी भेटिएको हो । असी किसानको माटोको नमूना परीक्षण गर्दा अम्लीयपनाको मात्रा ६ पाइएको कृषि विकास शाखा फाकफोकथुमका कुशेश्वर यादवले बताउनुभयो । यस गाउँपालिकाका वडाहरू १, ३, २ र ६ को माटो परीक्षण गरिएको थियो ।

“बलौटे, दुमोट, पाँगो, चिम्ट्याइलो माटोको पिएच, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा नमूना परीक्षण गर्दा यस क्षेत्रको माटोमा बढी पिएच भेटियो”, यादवले भन्नुभयो, “यसको सबैभन्दा उत्तम विधि कृषि चुनको प्रयोग नै हो ।”

त्यसैगरी शिविरमा ५० किसानले बाली उपचार गराएका थिए । सुन्तला, कागती र अलैँची बालीको उपचार गरिएको थियो । पछिल्लो समय सुन्तला, कागती र अलैँचीमा देखिएको रोग निदानका लागि कृषि प्रमुख यादवले निमराज, नीलोतुथो र कृषि चुनको प्रयोगलाई बढाउँदै लैजानुपर्ने सुझाव दिनुभएको छ । माटो शिविरमा गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले गाउँपालिकालाई तीन÷चार वर्षमा रासायनिक मलमुक्त बनाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउँदै लैजानेमा जोड दिनुभयो ।

रासायनिक मलको प्रयोगले नागरिकको स्वास्थ्यमा समेत असर पर्दै गएकाले गाउँकार्यपालिकाको बैठकबाटै रासायनिक मललाई प्रतिबन्ध लगाउने नीति अवलम्बन गरिने बताउनुभयो । “स्थानीयस्तरमा प्राङ्गारिक मलको पर्याप्त उपलब्धता भएकाले रासायनिक मललाई प्रतिबन्ध लगाउने तयारी गरिएको छ, त्यसपछि यहाँको कृषि उत्पादन पूर्ण जैविक बनाउने योजना छ”, उहाँले भन्नुभयो । ग्रामीण क्षेत्रमा उत्पादन हुने सागसब्जी, अन्नबाली पूर्ण जैविक बनाउन सके यसको बजारीकरणमा पनि कुनै समस्या नहुने कृषि प्राविधिक वसन्त भट्टराईको भनाइ छ । यस क्षेत्रका किसानले विशेषगरी अदुवा, गहुँलगायत बालीमा युरिया, डिएपी, पोटासजस्ता रासायनिक मलको प्रयोग गर्दै आएका छन् ।