सम्बन्धन नलिई कलेज सञ्चालन

प्रकाशित मिति : : मङ्लबार, माघ १५, २०७५

इनरुवा, माघ १५ । सुनसरी सदरमुकाम इनरुवा–१ शान्ति चौकमा रहेको एलेन कलेज अफ इञ्जिनियरिङ प्रालि सीटीइभिटीबाट स्वीकृति नलिई सञ्चालन गरिएको खुलेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् पूर्वक्षेत्र क्षेत्रीय कार्यालय इटहरीले ऐलेन कलेज अफ इञ्जिनियरिङ प्रालि गैरकानुनी रुपमा सञ्चालनमा रहेकाले आवश्यक कारवाहीको मागसहितको पत्र काटेपछि सो रहस्य सार्वजनिक भएको हो ।

परिषद्द्वारा पत्र सङ्ख्या २०७५÷७६ र चलानी नम्बर १८७ भएको पत्र कारवाहीको मागसहित जिल्ला प्रशासन कार्यालयमा पठाइएको र प्रजिअले सम्बन्धित निकायसँग बुझी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भनी प्रहरीलाई तोक आदेश गरेको छ ।

सो कलेजले सम्बन्धित निकायबाट मान्यता नलिई विराटनगरको स्किल फाउण्डेसनसँगको सहमतिका आधारमा प्राविधिक शिक्षा कक्षा सञ्चालन गर्दै आएको छ । स्किल फाउण्डेसनले सीटीइभिटीबाट मान्यता पाएको भए पनि उसले अन्यलाई आफ्नो नामको अधिकार बेच्न नपाउने पूर्वक्षेत्र क्षेत्रीय निर्देशक डा शिवप्रसाद दाहालले बताउनुभयो ।

अटेर गरेको खण्डमा स्किल फाउण्डेसनको इजाजत नै रद्दको प्रक्रिया अघि बढ्न सक्ने दाहालले बताउनुभयो । कलेजको सम्बन्धमा आवश्यक अनुसन्धान गरी परिषद्सँगको समन्वय र परामर्श पश्चात कारवाहीको पक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

एलेन कलेज अफ इञ्जिनियरिङ प्रालिका अध्यक्ष मनोजकुमार मेहताले आफ्नो कलेज कानूनी रुपमा सञ्चालित रहेको दाबी गरेका छन् । स्थानीय तह र समबन्धित निकायमा दर्ता गरी आवश्यक करसमेत बुझाउँदै आएको बताउँदै उहाँले स्किल फाउण्डेसनसँगको सहकार्यमा सञ्चालन गरेकाले कलेज वैधानिक भएको जिकिर गर्नुभयो ।