त्रिपन्न ट्याक्सी चालक कारवाहीमा

प्रकाशित मिति : : मङ्लबार, माघ १५, २०७५

काठमाडौँ, माघ १५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रु ठगी गर्ने ट्याक्सी चालकमाथिको कारवाहीलाई तीव्रता दिएको छ ।

महाशाखाले आजै मात्र यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ५३ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाले सोमबार पनि उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई कारवाही गरेको थियो ।

ट्राफिक प्रहरीले यात्रुसँग भाडा बार्गेनिङ गर्ने ट्याक्सी चालकलाई ‘हाउमच’ अभियान सञ्चालन गरेरै कारवाही गर्ने गरेको छ । ‘हाउमच’ अभियानमा कारवाहीमा पर्ने ट्याक्सी चालकलाई प्रत्येक पटक प्रहरीले रु तीन हजार जरीवाना गर्ने गरेको छ । त्यस्तै पाँच पटकभन्दा बढी ‘हाउमच’ कारवाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्ने गर्ने महाशाखाले जनाएको छ ।

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने रु ५०० देखि रु एक हजार ५०० सम्म जरिवाना गर्ने छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकलाई कारवाही गर्दै आएको छ ।

ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल खबर गर्नसमेत महाशाखाले आग्रह गरेको छ ।