त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर बेलायत हुँदै अस्ट्रेलिया चुरोट तस्करी हुने गरेको छ। एक साताअघि अनधिकृत रुपमा बेलायत पठाउन लागिए ३२ कार्टुन चुरोट त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेपछि तस्करीको रहस्य खुलेको हो।
यस विषयमा भन्सार कार्यालयले उपसचिवको नेतृत्वमा छानबिन समिति बनाएको छ। स्थल नाका भएर नेपालबाट भारतमा र भारतबाट नेपालमा चुरोट तस्करी हुनुलाई सामान्य मानिए पनि विमानस्थलबाटै अनधिकृत रुपमा चुरोट तेस्रो मुलुक पठाउने तस्करको गिरोह सक्रिय रहेको देखिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिलीपकुमार गौतमले डिपी नेक्स कुरियर र इकिमा कुरियरबाट अनधिकृत रुपमा बेलायत पठाउन लागिएको चुरोट बरामद गरिएको बताए। उनका अनुसार डिपी नेक्सले पठाउन लागेको ६ कार्टुन र इकिमा कुरियरले पठाउन लागेको २६ कार्टुन चुरोट बरामद गरिएको हो। ‘३२ कार्टुन चुरोट बरामद भएको हो, बेलायत पठाउन लागिएको रहेछ, कुरियर सञ्चालकहरुसँग धरौटी मागिएको छ,’ गौतमले भने। उनले विमानस्थल भएर आउने र पठाइने सबै सामान जाँचमा सतर्कता अपनाइएको बताए। ‘पूर्वसजगता र सतर्कता अपनाएका छौं’, गौतमले भने।
चुरोट बरामद भएपछि छानबिनका लागि विमानस्थल भन्सार कार्यालयका उपसचिवको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको छ। भन्सार कार्यालयले समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने जनाएको छ।
त्रिभुवन विमानस्थलबाट पछिल्लो समय चुरोट, गुट्खा जस्ता सुर्तीजन्य पदार्थको पनि अवैध ओसारपसार हुने गरेको छ। तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर सुन, लागुऔषधलगायतका सामान पनि तस्करी गर्दै आएका छन्। विमानस्थलको सुरक्षा घेरा र भन्सार प्रणाली छलेर जहाजसम्म पुर्याउन लागेका अनधिकृत सामग्रीहरु बेलामौकामा बरामद गरिन्छन्। अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र भन्सारलाई छलेर विदेशी मालवस्तु ओसारपसार भैरहेको विषय सामान्यतया कम सार्वजनिक हुने गरेको छ।
चुरोट पनि नेपालबाट कतार हुँदै बेलायत, अस्ट्रेलियालगायत देशमा पुर्याउने गरिएको छ। बेलायतबाट जाने सामानमा अस्ट्रेलियाले खासै चासो नदिने भएकाले पनि तस्करले नेपालबाट बेलायतमा चुरोट पठाउने र त्यहाँ पुन प्याकिङ गरेर अस्ट्रेलिया पठाउने गरेको स्रोतको दाबी छ। बरामद ३२ कार्टुन चुरोटको मूल्य करिब एक करोड ३० लाख रुपैयाँबराबर भएको बताइएको छ।