बुधबार, जेठ २ गते २०८२

‘नेपथ्यको यात्रा’मा यसरी झुमे पोखरेली

‘नेपथ्यको यात्रा’मा यसरी झुमे पोखरेली

अखबार दैनिक
बुधबार, पुस १३ २०७९
  • ‘नेपथ्यको यात्रा’मा यसरी झुमे पोखरेली

     

    पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रको मैदानमा बिहानैदेखि हिमाल देखिन गरी सफा आकाश पाएको ब्याण्डलाई अझ गतिलो स्वागत गर्‍यो। आफ्नो माटोमा आइपुग्दा प्रारम्भकै दिन सम्झँदै ब्याण्डले पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल है टिपी राख्नु’ सुनायो। 

    images

    नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले झण्डै ३३ वर्षअघि याङ्जाकोटमा रचना गरेको यो गीत ब्याण्डकै पहिलो सिर्जना थियो। यसरी पहिलो गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीको तस्विर देखाइयो। गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३२ वर्षमा गरेको यात्राका झलक आउने गरी तस्विर संयोजन गरिएको थियो। दोस्रो प्रस्तुति ‘भेडाको ऊनजस्तो’ लाङटाङतिरको संकलन थियो। 

    तेस्रो गीत फेरि स्थापना कालतिरकै पुरानो ‘छेक्यो छेक्यो देउराली डाँडा’ थियो। यो त झनै ब्याण्डलाई स्थापित गराउने सिर्जनाको रूपमा सबैले चिनेको गीत। ब्याण्डको दोस्रो एल्बम ‘हिमाल चुचुरे’ मा अटाएको शुक गुरुङ सिर्जित यो गीतमा पोखरेली दर्शकहरू अझ रमाए।

    त्यसपछि भने पोखरेलीहरूसँग अमृतले साक्षात्कार गर्ने पालो आयो। ‘बिहान झलमल्ल हिमाल देखेर म पोखराको मान्छेको धेरै दिनदेखिको न्यास्रो मेटियो’ अमृतले यसरी यस ठाउँसँगको आफ्नो सामीप्य प्रकट गर्नासाथ विशाल दर्शक खुशीले उत्तेजित भए। उनले तमाम दर्शकका साथसाथै ब्याण्डलाई यसरी प्रस्तुतिको मौका जुराइदिने मानव सेवा आश्रमलाई धन्यवाद व्यक्त गरे।

    त्यसपछि उनले आफ्नो थातथलो नछाड्न आह्वानका साथ गाउँ जाने र रोदीमा बसेर गाउने अनुरोध गर्दै सुरु गरे, ‘खान्न म त लामपाते सुरती, लाऊँ कि नलाऊँ जुग जाने पिरती।’ त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरू ‘चरी मर्‍यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाए। अमृतले ‘घर हाम्रो पोखरा’ भनेर गाइरहँदा दर्शकले ‘घर हाम्रो पोखरा’ भन्दै साथ दिए। त्यसपछि ‘शिर फूल शिरैमा वन फूल वनैमा, हिउँको फूल धौलासिरिमा’ लगायतका केही गीत गाए। 

    सडकमा आश्रित बन्न पुगेका मुलुकभरका नागरिकहरूको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यस पटकको देश दौडाहा गरेको हो। ‘सबैतिरबाट आएर हामी यो पोखरामा बस्यौँ। हाम्रा बाजे बराजुले यहाँ बजार बनाए। हामीले यसलाई सहर बनायौँ। हाम्रा भावी पुस्ताले अझ विशाल महानगर बनाउनेछन्,’ यसअघि सरकारी विद्यालयकै निम्ति पोखरामा पाँच पटक आफूलाई प्रस्तुत गरिसकेका गायक गुरुङले भने, ‘त्यो भावी विशाल महानगर कस्तो बनाउने भन्ने विषयमा हामीले ध्यान पुर्‍याउन जरुरी छ। भावी महानगर मानवीयताले भरिएको बनाउने हो भने गच्छेअनुसार दान गर्ने संस्कारको विकास गरौँ।’ 

    यसअघि मुलुकभर यात्रा गरेर आएको गुरुङ र उनको टोलीलाई आइतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वागत गरे। त्यसै गरी  कन्सर्टको अघिल्लो दिन सोमबार मात्रै पोखरा–२५को हेम्जा बाबियतारास्थित ‘मानव सेवा आश्रम’मा नेपथ्य टोलीले भ्रमण गरेको थियो। त्यति बेला अमृतले आश्रमले मुलुकभर सडकमा आश्रित रहेकाहरूलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भई आफ्नो ब्याण्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको प्रष्ट पारे। त्यस अवसरमा नेकपा एमालेको प्रदेश संसदीय दलका नेता खगराज अधिकारी लगायतका नेताले पोखराबाट उदाएको नेपथ्यले सिंगो नेपाली पहिचानका लागि दिएको योगदानको चर्चा गरेका थिए।

    संगीतका साथै मानवता प्रवर्धनका लागि नेपथ्यको यो कन्सर्टले पोखरामा लगातार सफलता पाएकोमा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी व्यक्त गरे। ‘यो शहरबाटै जन्मेको नेपथ्यले मुलुकभरि मानवताको उज्यालो फैलाउने संकल्प बोकेको मानव सेवा आश्रमसँग मिलेर सहकार्य सुरु गरेको छ’, उनले भने, ‘यो अठोटलाई आज देखिएको पोखरेली दाजुभाइ दिदीबहिनीको मायाले थप बलियो बनाएको छ।’ मानव सेवा आश्रमसँग युवा पुस्तालाई जोड्न भरमग्दुर प्रयास चलिरहेको बेला यो कन्सर्टले त्यो उद्देश्यमा सघाउ पुर्‍याउने विश्वास पनि उनले प्रकट गरे।

    पोखराको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुई वटा बस मार्फत बुधवार काठमाडौंतर्फ प्रस्थान गर्‍यो। मानव सेवा आश्रमकै आयोजनामा त्यहाँस्थित भृकुटीमण्डपमा नेपथ्यले पुस १६ गते शनिवार प्रस्तुति दिँदैछ। मंसिर १६ गते विराटनगरमा शुरु भएको ‘मानवताको लागि नेपथ्यको देशव्यापी यात्रा’ एक महिना पूरा गरी पुस १६ गते सम्पन्न हुनेछ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ