अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता लागेको छ । ८२ वर्षीय बाइडेनलाई गत हप्ता मूत्र सम्बन्धी लक्षणहरूका लागि डाक्टरले जाँच गरेपछि शुक्रबार क्यान्सर भएको पत्ता लागेको बीबीसीले जनएको छ । यो क्यान्सरलाई आक्रामक प्रकारको क्यान्सर मानिन्छ । जसको ग्लिसन स्कोर १० मध्ये ९ छ । क्यान्सर रिसर्च यूकेका अनुसार यसको अर्थ उनको रोग हाई–ग्रेडको श्रेणीमा पर्छ र क्यान्सर कोषहरू छिटो फैलन सक्छन् ।
बाइडेन र उनका परिवारले उपचारका विभिन्न विकल्पहरूमा विचार गरिरहेको समाचारमा बताइएको छ । पूर्वराष्ट्रपतिको कार्यालयले यो क्यान्सर हर्मोन–सेन्सिटिभ भएको बताएको छ । यसको अर्थ यो नियन्त्रण गर्न सकिने सम्भावना छ भन्ने हो । यो खबर प्रकाशित भएपछि दुवै राजनीतिक दलका नेताहरूले पूर्वराष्ट्रपतिलाई सान्त्वना दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको खबरले आफू दुःखी भएको बताएका छन् । उनले भनेका छन्, “हामी उनको परिवारप्रति आफ्नो न्यानो माया र शुभकामना पठाउँछौँ । हामी जोको छिटो र सफल स्वास्थ्य लाभको कामना गर्छौं ।”
बाइडेनको उपराष्ट्रपति रहेकी कमला ह्यारिसले सामाजिक संजाल एक्समा पोष्ट गर्दै उनी र उनका पति डग एमहफ बाइडेन परिवारको साथ रहेको बताएकी छिन् ।