काठमाडौं । ‘माझी दाइ’, ‘आमाको काख’ जस्ता फिल्मका निर्देशक विजय केरुङले ‘परिवर्तन’ शीर्षकमा नयाँ फिल्म बनाउने भएका छन् । आइतबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । एक इमानदार प्रहरीको कथामा बन्न लागेको फिल्ममा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली मुख्य भूमिकामा देखिनेछन् । यो उनीहरुको पहिलो सहकार्य हुनेछ ।
‘आउटल’बाट एक्सन अभिनेताको छवि बनाएका सुशीलका लागि ‘परिवर्तन’ अर्को माइलस्टोन साबित हुने निर्देशक केरुङले दाबी गरेका छन् । फिल्ममा सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आयशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।
दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता दीपक सिवाकोटी हुन् । उनी विगत १५ वर्षदेखि पूर्वी नेपालका सफल युवा व्यवसायीका साथै समाजसेवामा सक्रिय व्यक्ति हुन् । उनले नै फिल्मको कथा लेखेका हुन् । पटकथा तथा संवाद भने शिवम अधिकारीले तयार पारेका छन् ।
यसमा छायाङ्कन शिव ढकालले, सम्पादन भूपेन्द्र अधिकारीले, द्वन्द्व निर्देशन श्री श्रेष्ठले तथा नृत्य निर्देशन कमल राईले गर्नेछन् । आगामी हप्ताबाट फिल्मको छायांकन सुरु गरेर यसै वर्ष रिलिज गर्ने योजनामा निर्माण टिम रहेको छ । फिल्मले नेपालको सीमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको काला सञ्जाल, र गरिब, दुखी तथा असहायको पीडादायी यथार्थलाई देखाउने जनाइएको छ ।