एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले गाजाबाट आउने मानिसहरूका लागि सबै आगन्तुक भिसा निलम्बन गर्ने घोषणा गरेको छ । यो प्रतिबन्ध हालका दिनहरूमा अस्थायी उपचार र मानवीय आधारमा केही भिसा जारी गर्न आवश्यक प्रक्रियाको गहन समीक्षाको लागि लगाइएको मन्त्रालयले भनेको छ । केही प्यालेस्टिनी अधिकार समूहहरूले अमेरिकाको यो निर्णयको निन्दा गरेका छन् ।
यस निर्णयले गाजाबाट घाइते र गम्भीर बिरामी बालबालिकाहरूलाई उपचारको लागि अमेरिका ल्याउने आफ्नो क्षमतामा गम्भीर असर पार्ने एक विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी बाल राहत कोषले भनेको छ ।
अति दक्षिणपन्थी कार्यकर्ता लौरा लुमरले भिसा कार्यक्रमको आलोचना गर्दै एक्समा कयौँ पोस्ट लेखेपछि मन्त्रालयको नीतिमा यस्तो परिवर्तन आएको हो । उनले ट्रम्प प्रशासनलाई यसलाई बन्द गर्न आग्रह गरेकी थिइन् ।
प्यालेस्टिनी बाल राहत कोषले २०२४ मा आफ्नो विदेश उपचार कार्यक्रमको एक भागको रूपमा गाजाबाट १६९ बालबालिकालाई बाहिर निकालेको बताएको छ । यी बालबालिकाहरूलाई मध्य पूर्व, युरोप, दक्षिण अफ्रिका र अमेरिकामा उपचारको लागि लगिएको थियो ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेदेखि लगभग दुई वर्षदेखि चलिरहेको युद्धमा गाजाका अधिकांश अस्पतालहरू ध्वस्त भएका छन् । यहाँका मानिसहरूले गम्भीर खाद्यान्न अभावको सामना गरिरहेका छन् ।