जेठ ६ काठमाडौं । विकास हाइड्रोपावरले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई मंगलबारदेखि आईपीओमा आवेदन खुलाएको छ । कम्पनीले जारी पूँजीको ४९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन गर्दैछ । जसमध्ये आयोजना प्रभावितका लागि ९ लाख ९ हजार १०१ कित्ता सेयर र वैदेशिक रोजगारमा रहेकालाई ३ लाख ५४ हजार ५५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ४ र ५ लाई अति प्रभावित स्थानीयबासीका रुपमा छुट्याइएको छ ।
त्यस्तै सो पालिकाको प्रभावित वडा नम्बर १,२,३,६ र ७ का स्थानीयबासीले पनि आवेदन दिन सक्नेछन् । प्रभावित स्थानीयले धार्चे शाखाको हिमालयन बैंक, गोरखा र आरुघाट शाखाको प्रभु बैंकबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।
त्यस्तै प्रभु क्यापिटलको अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । प्रभावितले छिटोमा जेठ २० गतेसम्म र सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा असार ४ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । उनीहरुले जेठ २० गतेसम्म आवेदन दिनुपर्नेछ ।
कस्तो छ कम्पनी ?
कम्पनीले गोरखा जिल्लामा ४.५ मेगावाट क्षमताको माछाखोला हाइड्रोपावर आयोजना सञ्चालनमा ल्याएको छ । आयोजनाको लागत प्रतिमेगावाट २४ करोड ५७ लाख रुपैयाँ छ ।
ब्याजसहित कुल लागत १ अर्ब ११ करोड ८२ लाख रुपैया छ । इक्रा नेपालले कम्पनीलाई बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनी दायित्व वहनमा मध्यमस्तरमा रहेको जनाउँछ । आयोजनाको लगानी फिर्ता हुने अवधि ७ वर्ष ३ महिना अनुमान छ । पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३७ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७६ पैसा छ । १ करोड २८ लाख रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ ।