काठमाडौँ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपालको भूमि लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने चीन—भारतबिचको सम्झौता दुःखद भएको बताएका छन् । राष्ट्रियसभाको शुक्रवारको बैठकमा बोल्दै ढुंगानाले चीनका विदेशमन्त्री भारतमा गएर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरामा व्यापार मार्ग खोल्ने सम्झौता गर्नु नेपाल र नेपाली जनताका लागि दुःखद भएको बताएका हुन् ।
उनले यसबारे सरकारले कूटनीतिक नोट लेख्नुपर्ने बताए । नेपालको भूमिको प्रयोग नेपाललाई नसोधी गर्ने कुरा सह्य नहुने उनको भनाई थियो ।
उनले भने, ‘तत्कालीन नेपालका प्रधानमन्त्री सुशील कोइरालाले नोट लेखेरै भारतलाई यो त्रिपक्षीय ठाउँ हो । यो नेपालको भूमि हो । नेपाललाई नसोधी जुन किसिमको सम्झौता गर्नुभयो, त्यसको विरोध गर्दछौँ भनेर भनेका कुराहरू अहिले पनि म बिर्सिन्न । नेपाल सरकारले आफ्नो नक्सा पनि निकालिसकेका छौँ, प्रधानमन्त्रीज्यू चीन पनि र भारत पनि जाँदै हुनुहुन्छ । आफ्ना कुराहरू कूटनीतिक तवरले राख्नुहोला ।’ सांसद ढुंगानाले नेपाली जनताले सोचेअनुसारको सङ्घीयता देशमा चल्न नसकेको बताए ।