उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले आ-आफ्नो पार्टीभित्र छलफल थालेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बिहान ९ बजेदेखि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको छ। एक नेताले दिएको जानकारीअनुसार बैठक उपसभामुखलाई हटाउने विषयमाकेन्द्रित छ।
साथै कांग्रेसले आफ्ना सांसदहरूलाई मंगलबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सिंहदरबारस्थित संसदीय दलमा उपस्थित हुन भनेको छ। ‘संसदीय दल बैठक बोलाइएको होइन, तर सांसदहरूलाई आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संसदीय दलमा आउनू भनिएको छ,’ एक सांसदले भनिन्, ‘हस्ताक्षर गर्नका लागि हुन सक्छ, उपसभामुखलाई हटाउने विषय हो भन्ने बुझिएको छ।’
उनका अनुसार सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस र एमालेका प्रमुख सचेतकहरूबीच उपसभामुख हटाउने विषयमा कुराकानीसमेत भएको थियो। सोमबार साँझपख बालुवाटारमा प्रधानमन्त्री र कांग्रेस सभापति देउवासहित दुई दलका शीर्ष नेताहरूबीच पनि यो विषयमा छलफल भएको थियो।
यस्तै एमालेले पनि उपसभामुख हटाउने विषयमा पार्टीभित्र छलफल गरेको छ। एमालेले आजै संसदीय दलको बैठक आकस्मिक रूपमा बोलाएको छ।