सुनसरीको धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रु वाहक बस सोमवार बिहान धनकुटा-६ स्थित गोठगाउँमा दुर्घटना हुँदा एकजना यात्रुको मृत्यु भएको छ। यस्तै १३ जना यात्रु घाइते भएका छन्।
को १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। धनकुटा बजारबाट करिब ३ किलोमिटर नजिक सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ। मृत्यु हुनेमा धनकुटा नगरपालिका ६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेल रहेको प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।
उनको धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य घाइतेहरूको जिल्ला अस्पताल तथा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उनले जानकारी दिए।