अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकाको निर्माण ठेक्का विज्ञापन प्रकाशनमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित विज्ञापन एजेन्सीका सञ्चालकविरुद्ध ३ लाख १६ हजार ४ सय रुपैयाँ बिगो मागसहित मुद्दा दायर गरेको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा चारवटा बोलपत्र आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो। बोलपत्र आह्वानको सूचना लुकाउन सार्वजनिक रूपमा प्रकाशन नगरी खरिद आशयको सूचना एक प्रति मात्र प्रकाशित गरेको आयोगको आरोप छ। आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव, सहलेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडियाका संस्थापक भूषणकुमार सिंह, डच मिडियाका निर्देशक रवि अर्याल र प्रभाव दैनिकका कृष्णबहादुर कार्कीविरुद्ध ३ लाख १६ हजार ४०० रुपैयाँ बिगो माग दाबी गरेको छ।
आयोगका अनुसार प्रेस काउन्सिल नेपालको २०७९ चैत २३ को पत्रले बोलपत्रको सूचना प्रकाशित नभएको पुष्टि गरेको छ। खरिद आशयको सूचना सार्वजनिक वितरणका लागि प्रकाशित नै नभएको देखिएको छ।
पत्रिकाको पिडिएफ अभिलेखमा सूचना प्रकाशित नभएको, सौर्य दैनिकमा एक–एक प्रति मात्र प्रकाशन गरेको, प्रेस काउन्सिलमा बुझाइएको विवरणमा उल्लेख नभएको र पिडिएफमा पनि नभेटिएको आयोगको ठहर छ। सार्वजनिक वितरण नगर्ने गरी एक–एक प्रति प्रकाशन गरी बदनियत राखेको आयोगको निष्कर्ष छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले पाँच जनाविरुद्ध कैद र बिगो असुलको मागसहित मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरिएको बताए। रासस