तातो गर्मीले वातावरण तातेको छ। केही दिनअघि पूर्वी क्षेत्रमा देखिएको मनसुन त्यतै अड्किएको छ। पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ। बढ्दो गर्मीले घरबाहिर निस्कन गाह्रो भएको छ।
त्यसैले देशका विभिन्न ठाउँबाट गर्मी छल्न मानिसहरू त्रिशूली नदीमा र्याफ्टिङ गर्न आउन थालेका छन्। काठमाडौँ र चितवनबाट दुई-तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्याफ्टिङ गर्नेको संख्या केही दिनयता बढेको छ। र्याफ्टिङसँगै ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरू पनि देखिन्छन्।
यो र्याफ्टिङका लागि उपयुक्त समय हो। लामो समयदेखि र्याफ्टिङ व्यवसाय चलाउँदै आएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेल यो समयमा र्याफ्टिङ गर्न आउनेको संख्या निकै बढेको बताउँछन्।
‘र्याफ्टिङका लागि यो अनुकूल समय हो, वर्षा सुरु नभएकाले नदीमा पानीको सतह पनि बढेको छैन,’ उनले भने, ‘पारिवारिक साहसिक गतिविधि भएकाले र्याफ्टिङ गर्नेहरू बढेका छन्।’ बिदाको दिन र्याफ्टिङ गर्न र रिसोर्ट वा भिल्लामा एक रात बिताउन आउनेहरू बढेको उनको भनाइ छ।
उनका अनुसार त्रिशूलीमा काठमाडौँ, चितवन, पोखरालगायत सहरबाट मानिसहरू आउँछन्। ‘कतिपय मानिसहरू काठमाडौँ–चितवन–पोखराको यात्राका क्रममा र्याफ्टिङ गर्छन्, भने कतिपय प्याकेजमा र्याफ्टिङलगायतका गतिविधिका लागि आउँछन्,’ उनले भने। यहाँ आउनेहरू गर्मी छल्नेमात्र नभई नदीमाथि स्काइ साइकलिङजस्ता गतिविधिका लागि पनि आउने गरेको उनको बुझाइ छ।
त्रिशूली नदीमा र्याफ्टिङ निकै सहज छ। काठमाडौँबाट चितवन वा पोखरा जाने जोकोहीले बाटोमा र्याफ्टिङ गर्न सक्छन्। ‘र्याफ्टिङ सबै उमेर समूहका लागि हो,’ सञ्चालक कँडेलले भने।
र्याफ्टिङ गाइड मिथुन श्रेष्ठका अनुसार त्रिशूली नदी र्याफ्टिङका लागि प्रमुख गन्तव्य हो। परिवार र साथीहरूसँग र्याफ्टिङ गर्दा र्यापिड (पानीको भँगालो) मा पैंठेजोरी खेल्दै जानुको अनुभव निकै रोमाञ्चक हुने उनको अनुभव छ। काठमाडौँबाट नजिकैको गन्तव्य र सहज यातायातका कारण त्रिशूली र्याफ्टिङको प्रमुख गन्तव्य बनेको छ। रासस