मंगलबार, असार ४ गते २०८२

काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक

काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक

अखबार दैनिक
मंगलबार, असार ४ २०८२
  • काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी वर्षायामलाई मध्यनजर गर्दै आफ्नो क्षेत्रभित्र तीन महिनाका लागि सडक तथा फुटपाथ खन्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ। महानगरको सार्वजनिक निर्माण विभागले एक सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडक खन्ने स्वीकृति वा सहमति नदिइने स्पष्ट पारेको हो।

    images

    मनसुनको समयमा सडक खन्दा हिलो, खाल्डाखुल्डी र पानी जम्ने जस्ता समस्याले सर्वसाधारणलाई सास्ती हुने तथा दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो निर्णय लिइएको हो। वर्षायाममा खनिएका सडकहरू समयमै मर्मत गर्न नसकिने र निर्माण कार्य पनि गुणस्तरहीन हुने हुँदा महानगरले यो कदम चालेको हो।

    विभागद्वारा जारी सूचनामा भनिएको छ,'काठमाडौं महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक, फुटपाथ खन्न स्वीकृति, सहमति दिने कार्य रोकिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।'

    यो निर्णयले खानेपानी, ढल, विद्युत्, टेलिकम तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरू लगायत सडक निर्माणसँग सम्बन्धित सबै निकायहरू प्रभावित हुनेछन्। महानगरले यस अवधिमा कुनै पनि बहानामा सडक खन्ने कार्य नगर्न र नगराउन सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ।

    विगतमा विभिन्न निकायहरूबिच समन्वयको अभावमा जथाभाबी सडक खन्ने र समयमै नपुर्ने प्रवृत्तिका कारण काठमाडौँका सडकहरू बर्सेनि अस्तव्यस्त बन्ने गरेका छन्। महानगरको यो पूर्वतयारी निर्णयले वर्षायाममा हुने ट्राफिक जाम, दुर्घटना र अन्य सास्तीलाई न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

    494832217_747079110990659_2184013178217188114_n_ppSUdCUdXL.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ