काठमाडौँ । नेपालमा दृश्य प्रविधिमा ऐतिहासिक उपलब्धिको सुरुवात भएको छ। राजधानीको टुँडिखेलमा आयोजना गरिएको ‘सिप मेला २०८२’ को समापन समारोहलाई ड्रोन हब नेपालले धरहरामा पहिलो पटक आयोजना गरेको लेजर प्रोजेक्टर सो मार्फत प्रदर्शन गरेको हो ।
उक्त सोले नेपालका सांस्कृतिक सम्पदा, सीपको महत्त्व र भविष्यको सम्भावनालाई जीवन्त रूपमा प्रस्तुत गर्दै दर्शकहरूलाई अभूतपूर्व दृश्य अनुभव प्रदान गरेको थियो । धरहराको ऐतिहासिक संरचना जीवित झैँ देखिनु यस प्रविधिको मुख्य आकर्षण बनेको थियो। आयोजकका अनुसार, यस्तो प्रविधि पहिलो पटक नेपालमा सार्वजनिक रूपमा प्रयोग गरिएको हो।
टुँडिखेलमा जारी सिप मेलामा समेत युवाहरूलाई तालिम प्रदान गरिएको छ । ३० दिने मेलामा ६० जनालाई ड्रोन अपरेटिङ, म्यापिङ र मर्मतसम्बन्धी व्यावसायिक तालिम प्रदान गरिएको थियो।
आइटी, निर्माण, अटो मोबाइल, आतिथ्य सेवा, सौन्दर्य तथा कलात्मक क्षेत्रहरूसम्म फैलिएको तालिमले युवाहरूलाई व्यावसायिक जीवनमा आत्मनिर्भर बन्न सहयोग पुर्याएको थियो । काठमाडौँ महानगरपालिका तथा ड्रोन हब नेपाल, एनसेल फाउन्डेसन, एमएडब्लु इन्टरप्राइजेज लगायतका साझेदार संस्थाहरूको सहकार्य गरिएको थियो ।