बैतडी। बैतडीको प्रमुख खाद्यबाली मकैमा अमेरिकन फौजी कीराको समस्या देखिएपछि किसानहरू चिन्तित बनेका छन्। यो कीराले मकै बालीलाई नष्ट गर्न थालेको छ, जसले गर्दा उत्पादनमा कमी आउने देखिएको छ।
कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार, दोगडाकेदार र शिवनाथ गाउँपालिकामा फौजी कीराको प्रकोप फैलिएको गुनासो आएको छ। केन्द्रले यसअघिदेखि नै इमामेक्टिन बेन्जोएट नामक विषादी वितरण गरिरहेको भए पनि हाल भने केन्द्रमै उक्त विषादीको अभाव देखिएको छ।
दोगडाकेदार–७ का दीपेन्द्र कार्कीले फौजी कीराले मकैको बोट पूरै सखाप पारेको बताए। लामो समयसम्मको खडेरीका कारण फौजी कीरा अझ बढी सक्रिय भएको अनुमान गरिएको छ।
दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेश भट्टका अनुसार, फौजी कीरा दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोगा, डाँठ, पात र टुप्पा खाएर छोटो समयमै बाली नष्ट गर्दछ। उनले फौजी कीरा देखिएका स्थानका किसानहरूलाई विषादी छर्किन सुझाव दिएको बताए। यो कीराले मकैको पकेट क्षेत्रमै नोक्सान पुर्याएको छ।
बैतडीमा विगत पाँच वर्षयता हरेक वर्ष फौजी कीराको समस्या देखिने गरेको छ। बैतडीमा करिब १३ हजार हेक्टर क्षेत्रमा मकै खेती गरिँदै आएको छ। यस वर्ष पनि कीराको प्रकोपले किसानहरूलाई थप समस्यामा पारेको छ।