गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी लिइरहेका छन् । सिंचाइका अभावमा बाँझिएका बारीहरुमा यतिबेला उखुखेतीले ढपक्कै बनेका छन् ।
छत्रकोट –४, दिगामका कृषक रामकृष्ण न्यौपानेलाई यतिबेला त्यही उखुबाट निस्किएको रसबाट गुड र खुदो उत्पादन गरेर बिक्री गर्न भ्याइनभ्याई छ । बिहान उज्यालो हुनासाथ बेलुकी अबेरसम्म पनि उहाँको परिवार गुड र खुदो उत्पादन गर्नमा ब्यस्त देखिनुहुन्छ ।
गुड र खुदो बिक्री गरेर पाँच महिनाका अवधिमा न्यौपानेले झण्डै एक करोड रुपैयाँको कारोबार गरिसक्नु भएको छ । गाउँबाट धेरै युवाहरु रोजगारीको खोजीमा भौतारी रहेको अबस्थामा छत्रकोट –४, दिगामका युवाहरु रामकृष्ण न्यौपाने, किरण न्यौपाने, जगदीश पाण्डे यतिबेला गाउँमै उखु खेतीमा रमाइरहनु भएको हो । उहाँहरु तीनै जनाले संयुक्त रुपमा एक करोडको योजना बनाएर आफ्नै लगानीमा गाउँमै तीन वर्षदेखि व्यावसायिक तरिकाबाट उखु उत्पादन गरेर उद्योग स्थापना गर्नु भएको छ । त्यही उद्योगबाट यतिबेला गुड र खुदो उत्पादन गर्दै आउनु भएको छ ।
उखुको रसबाट बनेको गुड र खुदो बिक्री गरेर तीन जना युवाहरु आर्थिक संमृद्धिको खोजीमा जुटन थाल्नु भएको हो । उहाँहरुले तीन सय रोपनी जग्गा भाडमा लिएर उखुखेती गर्न शुरु गर्नु भएको हो । गाउँमै उखु उद्योग स्थापना गरेर उहाँहरुले उखुको रसलाई विविधिकरण गर्दै आउनु भएको छ । आधुनिक मेशिनबाट पेलीएको उखुको रसलाई प्रशोधन गरि गुड र खुदोको ब्रान्डिङ् गरिएको छ । उहाँहरुले कम्पनी मार्फत गाउँका एक सय २५ भन्दा बढी किसानहरुको उखु खरिद गरेर खुदो र गुड उत्पादन गर्दै आउनु भएको छ ।
कृषि ज्ञान केन्द्र गुल्मीले न्यौपालेलाई उखु प्रशोधनका लागि आधुनिक मेशिन र भट्टी निर्माणका लागि ६ लाख ४५ हजार अनुदान रकम उपलब्ध गराएको छ । उक्त अनुदान रकममा थप गरेर उहाँहरुले १२ लाख भन्दा बढी लगानिमा उखु प्रशोधनका लागि मेशिन जडान गर्नु भएको छ । उक्त मेशिनबाट प्रति घण्टा २५ क्वीण्टल उखु पेल्न सक्ने क्षमता रहेको उद्योगका सञ्चालक रामकृष्ण न्यौपानेले बताउनुभयो । कम्पनीमा उखुको रस प्रशोधन गरेर दैनिक खुदो र गुड बनाउने काम भेरहेकोे छ । यसरी बनाएको गुड प्रतिकिलो तीन सय रुपैयाँ र खुदो प्रतिलिटर एक सय ८० रुपैयाँ मुल्य पर्दछ ।
गाउँले ग्रुपको उद्योगमा हाल १५ जना व्यक्तिहरु प्रत्यक्ष रुपमा रोजगारीमा जोडिएका छन । गाउँमै उखुबाट समृद्धि खोज्न थाल्नु भएका न्यौपानेले कम्पनी मार्फत पाँच महिनाको अबधिमा एक करोड मुल्य भन्दा बढीको गुड र खुदो बिक्री भैसकेको बताउनु भयो । उहाँले भन्नुभयो, “बजारमा दिगामको गुड र खुदोको माग धेरै आउने गरेको छ, राम्रो गुणस्तरको भएरहोला उपभोक्ताहरुले पनि खोजी खोजी लैजाने गर्नुहुन्छ, कहिलेकाहीँ काग धेरै भएको समयमा हामीलाई मागल पुराउन पनि धौधौ पर्दछ छ ।”
कृषि ज्ञानकेन्द्र गुल्मीका बरिष्ट बालि संरक्षण अधिकृत प्रकाश मरासिनीले अनुसार यस वर्ष जिल्लामा पाँच करोड ७० लाख बराबरको गुडखुदो बिक्री भैसकेको बताउनुभयो । जसअनुसार जिल्ला भित्र दुई करोड बराबरको खपत भएको छ भने तीन करोड ७० लाखको गुडखुदो बाहिर निर्यात भएको बताइएको छ ।
जिल्लाको छत्रकोट र रुरुक्षेत्रमा एक सय ९६ हेक्टर क्षेत्रफलमा कृषकहरुले उखु खेती गर्दै आउनुभएको छ । जिल्लामा यस वर्ष पाँच सय ९४ मेट्रिकटन भन्दा धेरै गुड र खुदो उत्पादन भएको छ । रुरुक्षेत्र र छत्रकोटमा कुल छ सय २५ घरधुरीका कृषकहरु व्यावसायिक रुपमा उखु खेतीमा जोडिनु भएको छ । रासस