सोमबार, साउन ७ गते २०८२

कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त

कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त

अखबार दैनिक
सोमबार, साउन ७ २०८२
  • कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त

    म्याग्दीको धवलागिरि गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकबरे जातको खुर्सानी खेती भएको छ । धवलागिरि –७ शिवाङको धौलागिरि कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानीखेती गर्नुभएको छ ।

    images

    “खुर्सानी लगाएको ठाउँमा झार पलाउन नदिनका लागि बोट उम्रने बाहेकका जमिनमा प्लास्टिकले छोप्ने मल्चिङ प्रविधि अपनाएको हो,” उहाँले भन्नुभयो “प्लास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषकतत्व पाएर उत्पादन राम्रो हुने भएकाले तरकारी खेतीमा यस्तो प्रविधिको प्रभावकारी भएको छ ।”

    समुद्री सतहदेखि दुई हजार मिटर उचाइमा अवस्थित शिवाङमा यसअघि दुई वर्ष परीक्षण गरेर यसपालीदेखि खुर्सानीको व्यावसायिक खेती सुरु गरेको उहाँले बताउनुभयो । खुर्सानी खेतीका लागि उहाँले रु दुई लाख ५० हजार लगानी गर्नुभएको छ ।

    धवलागिरिमा यसअघि व्यावसायिक रुपमा अकबरे जातको खुर्सानीखेती नभएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक अमृत थापाले बताउनुभयो । घरायसी प्रयोजनको लागि मात्र खुर्सानी खेती हुदै आएको थियो । बजारको सम्भावना भएकाले अकबरे खुर्सानीखेती गरेको किसान मगरले बताउनुभयो ।

    स्थानीय बजारमा प्रतिकिलो रु दुई सय ५० का दरले अकबरे खुर्सानी बिक्री हुन्छ । म्याग्दीमा हाल तराई र पूर्वी पहाडी जिल्लाबाट अकबरे खुर्सानी आयात हुनेगर्छ । दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानी खेती गर्न सकिन्छ ।

    तीस वर्षीय मगरले वैदेशिक रोजगार र परम्परागत खेतीको विकल्पमा खुर्सानीका साथै किबीखेती, कुखुरा र बाख्रापालन गरेर स्वरोजगार बन्नुभएको छ । मगर कराते खेलका खेलाडी हुनुहुन्छ । उहाँको बगैँचामा ७० किबीका बोट छन् । गत वर्ष तीन हजार किलोग्राम किबी बिक्री गर्नुभएको थियो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ