किशोरी र महिलाको महिनावारीका बारेमा अनेक वृत्तचित्र, चलचित्र बनेका छन् र ४०–४५ वर्षपछि महिलाको रजनोवृत्ति अर्थात् महिनावारी बिस्तारै सुक्दै जाने समस्याका बारेमा न त प्रायः छलफल हुन्छ, न यसका बारेमा महिला स्वास्थ्यसम्बन्धी अनुसन्धान गरिन्छ ।
महिनावारी सुुक्नुु रोग होइन तर जसरी महिनावारी हुुँदा कसैकसैलाई साधारण समस्या हुुन सक्छ, महिनावारी सुुक्दा पनि साधारण समस्या देखापर्नुु स्वाभाविक हो भनेर बुुझ्नसके महिलालाई सजिलो हुुने थियो । “मेरो महिनावारी ४५ वर्षमा सुकेको थियो । पहिले त मलाई केही तातो हुने, खलखली पसिना पनि आउँथ्यो । मलाई मेरो साथीले हर्मोन औषधि दिइन् तर त्यसले मलाई झन् समस्या गरायो । मैले औषधि पनि छोडेँ र मैले त यस अवस्थालाई सामान्य रुपमा लिएको छु । अहिलेसम्म रजोनिवृत्तिका समस्या भएको छैन,” ७५ वर्षीया एक जनस्वास्थ्य विज्ञले केही दिनअघि मलाई इमेलमा लेखेकी थिइन् ।
“मेरो महिनावारी सुकेको चार वर्ष भयो । पहिलेपहिले त कहिले दुई/तीन महिनामा हुन्थ्यो । त्यतिबेला केही बढी रगत जान्थ्यो । फापर, ढिँडो, सिस्नो खाएँ । मलाई ढुक्क पो भएको थियो । मलाई कुनै समस्या नै भएन,” गाउँकी एक महिलासँगको भेटमा भनेकी थिइन् ।
नेपाली महिलाको महिनावारी सामान्यतया ४५–५२ वर्षको उमेरको हाराहारीमा पुगेपछि बन्द हुन्छ । अन्तरराष्ट्रियस्तरमा अमेरिकी तथा जापानी महिलाका बीचमा अधिकांश रजोनिवृत्तिपछिको अवस्थालाई लिएर धेरै अनुसन्धान भएको पाइन्छ । नेपालमा भने ‘मेनोपोज सिमटम इन नेपाल’की डा कान्ति गिरीले सन् २००१ मा काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, मकवानपुर र चितवनका १५० महिलामा गरिएको एउटा अध्ययन पाइन्छ । रजोनिवृत्ति वा महिनावारी सुकेपछि कतिपय महिलालाई केही समस्याहरू पर्न सक्छन् । यद्यपि, धेरै महिलालाई केही समस्या पर्दैन । यो कुनै रोग होइन भनेर मानिसहरूले बुझ्न गाह्रो भएकाले र महिनावारी सुकेपछि के औषधि गर्ने भन्ने प्रश्न पनि नेपाली महिलाहरूले गर्छन् ।
परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा पनि महिनावारी गडबड हुन सक्छन् । गाउँघरमा त ५० वर्षसम्म पनि यसरी कतिपय महिलाले डिपो वा नरप्लान्ट (परिवार नियोजनका साधन) प्रयोग गर्दा महिनावारी नै नहुने हुन्छ । अनि महिनावारी सुकेको हो कि यो साधनको प्रभावले भएको हो भन्ने छुट्याउन नै गाह्रो पर्छ । लगातार यस्तो साधन प्रयोग गर्दा हड्डी ‘फुसफुसे’ भएर भाँचिने समस्या हुन्छ । त्यसैले ३५ वर्षपछि परिवार नियोजनका साधन प्रयोग गर्दा बढी होसियार हुनुपर्छ । तर यो विषयमा कतै छलफल नै हुँदैन ।
रजोनिवृत्तिको बेला कसैलाई समस्या हुन्छ, कसैलाई हुन्न भनेर जाँच्ने यन्त्र त छैन । तर भोजन, आराम, सकारात्मक विचारले समस्या हुनेलाई पनि, समस्या नहुनेलाई पनि स्वास्थ राम्रो हुन्छ । तर युवावस्थामा शरीरलाई मोटो बनाएर, व्यायाम नगरेर सबै कुरा उमेर ढलेपछि गरौंला भनेर भनियो भने रजोनिवृतिमा समस्या हुन सक्छ । त्यसैले पहिले नै होस पु¥याए राम्रो हुन्छ ।
मेरी आमाको ४५ वर्षमा नै रजोनिवृत्ति भयो मेरो १० वर्षअघि ५० वर्षमा नै भयो, केही समस्या नै भएन । तर कसै कसैलाई राति निन्द्रा नलाग्ने, रिस उठ्ने, खान मन नलाग्ने र कसै कसैलाई जिउ चिलाउने र स्तनको आकार सानो हुँदै जान सक्छ । यसको कारण शरीरमा एस्ट्रोजेन नामक हर्मोन कम हुँदै जानु हो । चुरोट र सूर्ती प्रयोग गर्ने महिलाहरूलाई यस्तो समस्या बढी हुने गरेको देखिएको छ । त्यसैले स्वस्थ रहने हो भने गाउँघरका महिलालाई चुरोट र तमाखु छोड भन्नै पर्छ । तर नेपालको गाउँघरमा महिलाहरुलाई धु्रमपान र स्वास्थ्यमा पर्ने असरको बारेमा प्राय थाहा हुँदैन ।
प्रायः कति जनालाई त थाहा पनि हुँदैन कि महिनावारी बन्द हुने प्रक्रिया एकैपल्टमा हुँदैन । सुरुआतमा महिनावारी कहिले हुने, कहिले नहुने वा दुई–तीन महिना बिराएर हुने गर्छ । यो महिनावारी बन्द हुने प्रक्रिया हो भन्ने नबुझ्दा कतिले त मलाई रोग लाग्यो कि भनेर डराउँछन् । अनि लौ पाठेघरको क्यान्सर भयो भनेर तर्सिन्छन् ।
रजोनिवृत्तिको विषयमा भएका अनुसन्धानहरुले के देखाएका छन् भने यस्ता समस्याहरुलाई महिलाहरुको भोजन, शारीरिक व्यायाम, जीवन प्रतिको दृष्टिकोण, मानसिक तनाव आदि कुराले धेरै फरक पार्छ । साथै युवावस्थाको स्वस्थ खानपिनले पनि धेरै भूमिका खेल्छ । जीवनमा पछि पैसा चाहिन्छ भनेर बैंकमा पैसा राख्ने महिलाहरूले रजोनिवृत्ति पनि स्वस्थ रहोस् भनेर युवावस्थादेखि नै स्वास्थ्यमा लगानी गर्नुपर्छ । अर्थात स्वस्थ खाना, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । कतिपय महिलाले पनि यसलाई उमेरअनुसारको स्वाभाविक प्रक्रिया ठान्दछन् भने कतिपयले धर्म–कर्मतर्फ लाग्ने समयको रुपमा पनि लिएको पाइन्छ । अहिले त रजोनिवृत्ति भइसकेका महिलाहरू अफिसमा काम पनि गरिरहेका हुन्छन् ।
रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ध्यान राख्नु पर्ने चाहीँ हुन्छ । ३५–४० वर्षको उमेरपछि नै शरीरका हाडमा घनत्व कम हुँदै जान्छ, रजोनिवृति भएपछि या झन बढ्न जाने हुनाले शारीरिक व्यायाम, भोजन आदिमा विशेष ध्यान दिनुपर्छ । विभिन्न अध्ययनले देखाएका छन् तातो हुने धेरै पसिना आउने आदि रजोनिवृत्ति हुँदा हुने समस्यालाई कम गर्न भटमासको प्रयोग गर्नुपर्छ । प्रोटिन र लौहतत्व पाइने र भटमासको विशेष तत्वले मुटुको रोगबाट बचाउन मद्दत पनि गर्छ । शरीरमा एस्ट्रोजनको कमी हुँदै जाँदा छालामा रहेको चिल्लोपन हराउँदै जानसक्छ । यस्तो बेलामा छाला र गुप्ताङ्मा चिलाउने समस्या हुनसक्छ । यस्तो बेलामा तोरी, नरिवल, तिल, बदामको तेल प्रयोग गर्न उचित हुन्छ ।
केही महिलाहरूलाई रजोनिवृत्ति अवस्थामा मन दिक्क हुने, मन छिनछिनमा परिवर्तन हुने हुन्छन् । यस्ता परिवर्तन कतिले सजिलै आत्मसाथ गर्न सक्छन् त कतिलाई यस्ता परिवर्तनले चिन्तित बनाउँछ । यस्ता परिवर्तनले कस्तो असर गर्छ भन्ने कुरा महिलाको शारिरीक अवस्था र सम्पूर्ण स्वास्थ्य स्थितिले पनि निश्चित गर्छ । यससँगै ती महिलाको आर्थिक स्थिति, कामकाज, पारिवारिक जीवन, सामाजिक जीवन, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने क्षमता तथा रीतिरिवाजले पनि निश्चित गर्छ । यो मानसिक रोग होइन तर यस्तो समस्याले धेरै दुःख दिए मनोचिकित्सकसँग परामर्श लिन सकिन्छ ।
व्यायाम गर्ने महिलाहरुलाई रजोनिवृत्ति भएपछि शरिर एकैछिनमा तातो हुने, एकैछिनमा चिसो हुुने समस्या पनि केही कम गर्छ । ‘‘५० वर्ष पुगेपछि मेरो घुँडा दुख्ने समस्या भएको थियो, महिनावारी पनि सुक्यो । तर विस्तारै व्यायाम गरेपछि दुखाई कम हुन्छ । अहिले मैले नियमित रुपमा योग गर्न थालेको छु । मलाई रमाइलो लाग्छ”, ६० वर्षीय निलिमाले भनेको कुरा मलाई साह्रै घत लागेको थियो । व्यायामलाई बोझको रुपमा नलिएर आफूलाई फाइदा पु¥याउँछ भन्ने विश्वास गरेपछि अलिअलि गर्दै व्यायाम गर्ने बानी पर्दै जान्छ, स्वस्थ भइन्छ । रजोनिवृत्ति समस्या बन्दैन ।
रजोनिवृत्ति भएकी महिलालाई मानसिक तनावले पनि समस्या पर्न सक्छ । जस्तो कामको धेरै बोझ भए, धेरै थकाई, दिनदिनै झगडा भएमा, उमेर बढेपछि बुढो भए भनेर चिन्ता गरेमा मानसिक तनाव बढ्न जान्छ । यसरी महिनावारी सुक्दा तनाव धेरै पैदा भए शरीरलाई नै नकारात्मक असर गर्दछ । तनाव कम गर्ने धेरै उपायहरु छन् । कतिपय उपायहरु हामी हाम्रो जीवनमा उपयोग गर्छौ । कतिपय महिलाहरुले तनाव परेका बेला प्राथना गर्ने, योग गर्ने, ध्यान गर्ने, नाच्ने आदि गर्छन् । यस्ता क्रियाकलापले भावना व्यक्त गर्ने र आनन्दको भएर तनाव कम गर्न पनि मद्दत गर्छन् । महिनावारी सुक्ने बेलामा समस्याहरु कम होस् र शरिर स्वस्थ रहोस् भनेर स्वस्थ पोषणको साथै व्यायाम, हिँडाइबाट मानसिक तनाव, अनिन्द्रा, मोटोपन इत्यादि त घटाउँछ नै र आत्मविश्वास पनि बढाउँछ । रासस
