नेकपा (एकीकृत समाजादी) की नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)मा नै एकतावद्ध हुने पक्षमा आफूहरु रहेको बताउनुभएको छ ।
आज (बुधबार) काठमाडौंमा आफ्ना समूहका नेताहरुसहित पत्रकार सम्मेलन गरी उहाँले एमालेप्रति संकेत गर्दै आफूहरु त्यसै एकतावद्ध हुने बताउनुभएको हो । उहाँले बोल्नु अघि नै नेता कृष्णकुमार श्रेष्ठले आफूहरु एमालेमा विना शर्त फर्कने बताउनु भएको थियो । सोही भनाईप्रति संकेत गर्दै उहाँले विचार र सिद्धान्त मिल्ने पार्टीमा आफूहरु एकतावद्ध हुने बताउनु भयो । उहाँले देशभरका एकीकृत समाजवादी पार्टीमा आवद्ध नेता, कार्यकर्ताहरुलाई पनि आफूहरु उभिएको ठाउँमा एकतावद्ध भएर उभिन आह्वान गर्नुभयो । नयाँ पार्टीहरुले केही पनि गर्न नसक्ने कुरा जेन–जी आन्दोलनले पनि देखाएको उल्लेख गर्दै आफूहरु रुपान्तरित भएर अघि बढ्नुपर्ने बेला आएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो,‘हामीले विचार र सिद्धान्त मिल्ने पार्टीमा हामी एकतावद्ध हुने नै हो । किसान दाईले त फोरकाष्ट गरिहाल्नु भयो । एकतावद्ध हुने नै हो । त्यसो गर्दा हामी कम्तिमा रुपान्तरित हिसावले हामी जाउ । हामी पनि रुपान्तरण हुन आवश्यक छ भन्ने कुरा छ । हाम्रो यात्रा अवरुद्ध छ । हाम्रो पार्टी विघटन भएको छ । नयाँ बाटोको लागि हामीले केही कुरा देशैभरी नेकपा (एकीकृत समाजवादी) को नाममा संगठित हुनु भएका वडा तहदेखि केन्द्रिय कमिटीसम्म, विभिन्न संगठनदेखि जनवर्गीय संगठनसम्म सबै साथीहरुलाई एकतावद्ध भएर हामी उभियौं । हामीले हाम्रो नेतृत्वमा भयंकर ठूलो पार्टी बनाउँछौ भनेर दाबी गरिरहेका छैनौँ । हामीलाई आज यो लागिरहेको होइन । त्यसकारण समाजवादी पार्टीमा संगठित सबै साथीहरु यो एउटा सन्देश दिन चाहन्छौ कि पार्टी विहिन अवस्थामा भयौ नि त । अब एक घण्टा पछि पार्टी विहिन भईसकेपछि हामी पार्टी बिहिन मान्छेहरु के गर्छौ भन्ने सन्दर्भमा देशभरका साथीहरुका लागि हामी एक ठाउँमा उभियौ । हामीले एकदम राम्रो दृष्टिगोचर गरौं । र क्षितिज पारी उज्यालो छ भन्ने देखेरै हामीले सामूहिक पाईला अगाडि बढाउने छौं । त्यो बाटोबाट जाउ । देशभरीका साथीहरुलाई विचलित नहुनुहोस । अहिले पार्टी भत्कियो, परिवार भत्कियो । अहिले सब चिज यो भत्किएको बेला हामीले निर्माण गर्ने हो ।’
नेतृ झाँक्रीले नयाँ पार्टीहरुले मुलुकमा केही पनि गर्न नसक्ने कुरालाई सबैले आत्मासात गरेर अघि बढ्नुपर्ने पनि बताउनु भयो ।
