काठमाडौं: विश्वकपबाट बाहिरिएपछि नयाँ क्लबको खोजीमा रहेका क्रिस्टियानो रोनाल्डोले प्रशिक्षण थालेका छन्। रोनाल्डोले रियल म्याड्रिडको भलडेबेबासस्थित प्रशिक्षण केन्द्रमा आफ्नो प्रशिक्षण शुरु गरेका हुन्।
विश्वकपको शुरवातमा रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँग विवाद हुदा सहमतिमा क्लबसँगको सम्झौता तोडेका थिए। अब रोनाल्डोको नयाँ क्लब बारे टुंगिन बाँकी रहेको बेला रियल म्याड्रिडको प्रशिक्षण केन्द्रमा आफ्नो अभ्यास शुरु गरेको स्पेनका सञ्चारमाध्यमले जनाएका छन्। रियल म्याड्रिडसँग राम्रो सम्बन्ध भएकै कारण रोनाल्डोलाई प्रशिक्षणका लागि आफ्नो प्रशिक्षण बेस दिएको बताइएको छ।
३७ वर्षीय रोनाल्डोलाई साउदी अरबको क्लब अल नासरले अफर गरे पनि सो अफरमा रोनाल्डोले स्वीकृति नजनाएको रोनाल्डो आफैले विश्वकपको क्रममा बताएका थिए।
पोर्चुगल विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित हुदै बाहिरिएपछि अब रोनाल्डो कुन क्लबबाट खेल्छन् भन्ने कौतुहलता बढिरहेका बेला उनले आफ्नो अभ्यास भने शुरु गरेका छन्।