अखिल नेपाल फुटबल संघ (एन्फा) सँग नेपाल सुपर लिग (एनएसएल) सञ्चालन गर्न नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिले आठ वर्षको सम्झौता गरेको छ ।
एन्फा र एनएसएलबीच फ्रेन्चाइज लिग सञ्चालनका लागि नयाँ सम्झौता भएको हो । एन्फाका महासचिव किरण राई र नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिकी अध्यक्ष आश्रयता कार्की चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिले एनएसएल आयोजनाका लागि एन्फालाई १७ करोड २१ लाख रुपैयाँ उपलब्ध गराउनेछ । एन्फाले पुस २६ गतेदेखि ए डिभिजन लिग सुरु गर्दैछ । यसकारण यो वर्ष एनएसएल हुने छैन ।
यसअघि नै हुनुपर्ने एनएसएल एन्फासँग समन्वयन नहुँदा स्थगित गर्नु परेको आयोजकले जानकारी दिएको थियो । पहिलो एनएसएलको पहिलो संस्करण काठमाडौं रेजर्सले जित्दा सात टिमको सहभागिता थियो । अहिले आयोजकले १० टिम पुर्याएको छ ।