ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र विरोधीहरूले नकारात्मक भाष्य निर्माण गरेर भ्रम छर्ने काम गरेको भन्दै असन्तुष्टि पोखे ।
सोमबार ललितपुरको महानगरपालिकाको १०५ औँ स्थापना दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नकारात्मक सोच अन्त्य गरी सकारात्मक सोच राख्न आग्रह गरे ।
‘परिवर्तनका विरोधी शक्तिहरूले खाली नकारात्मक भाष्य सिर्जना गरी भ्रम छरेका छन् । त्यसकै लहैलहैमा परिर्वतनका पक्षधर पनि लागेको देख्दा मलाई दुःख लागेको छ’, गुनासो पोख्दै उनले भने, ‘गलत सोचको फेसन बसेपछि जति राम्रो गरे पनि राम्रो कामको मूल्याङकन हुँदो रहेनछ । सरकारले कामै नगरेको हो र ? विरोधीहरूकै लहैलहैमा लागेर परिर्वतनका पक्षधर पनि केही नै भएको छैन । देश बस्न लायक छैन भन्दा दुःख लाग्छ ।’
यस्तै उनले रोजगारीका लागि बिदेसिनेको सङ्ख्या वृद्धि भएको आंशिक सत्य भएपनि विरोधीले भ्रम छरेको जस्तो नेपालमा अवसर नपाएर गएको भन्ने कुरा असत्य भएको उनले जिकिर गरे । जादु गरेर सबैलाई १० लाखको जागिर दिने हैसियत सरकारको नभएको भन्दै उनले नेपालमै बस्ने वातावरण, उत्पादनको सिर्जना हुँदाहुँदै अवैधानिक तरिकाले दुःखबो बाटो रोजेर बिदेसिएकोमा आक्रोश पोखे ।
‘सरकारले धेरै गरेको छ । एक वर्ष पुगेको अवसरमा सरकार अर्कै ढंगले जाने कुराको जानकारी म यहाँ गराउन चाहन्छु । तर विरोधीले प्रचार गरे जस्तो नेपाल बस्न लायक छैन त ? के यहाँ काम नपाएर युवाहरू बिदेसिएका हुन् त ? नकारात्मक सोच भएपछि जति गरे पनि देशमा बस्दा रहेनछन्’, उनले भने, ‘यहाँ उत्पादनको अवसर, रोजगारीको अवसर हुँदा हुँदै पनि दुःखको बाटो रोजेर बिदेसिएका छन् । कतिपय देशमा अवसर हुँदाहुँदै पनि लहैलहैमा बिदेसिएका छन् । आफ्ना परिवारसँग बसेर देशमै केही गर्न सकिन्छ ।’