मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी ‘प्रमाण’ सार्वजनिक गर्दा गल्ती भएको बयान दिएका छन् । साइबर ब्यूरोका एक अधिकृतका अनुसार, सरकारी वकिलको रोहबरमा भएको बयानका क्रममा प्रसाईंले ह्वाट्सएपमा आएको कागज प्रमाणीकरण नगरी बाहिर ल्याउनु कमजोरी भएको जिकिर गरेका हुन् ।
‘मैले त्यसलाई पुष्टि गर्ने प्रयास गर्नुपथ्र्यो, तर ह्वाटसएपमा आएको कागज सार्वजनिक गर्दा गल्ती भयो’, प्रसाईंको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘खासमा ती कागजहरू फर्जी नै थिए ।’
प्रसाईंले ३ मंसिरमा युट्युबरहरू बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिअटा कम्पनीमा लगानी रहेको दाबी गरेका थिए । आफ्नो दाबीलाई पुष्टि गर्न उनले प्रमाण भन्दै एउटा कागज सार्वजनिक गरेका थिए । प्रहरीले प्रारम्भिक जाँच गर्दा नै त्यो कागज फर्जी रहेको भेटिएपछि ४ मंसिरमा प्रसाईं भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।