सल्यानको श्रीनगरमा जारी दोस्रो वृहत् सल्यान महोत्सवमा शनिवार राति भीषण आगलागी भएको छ। राति करिब ११ बजे लागेको आगोका कारण ६० स्टल जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी नायब उपरीक्षक (डीएसपी) केशर कुमार न्यौपानेका अनुसार आगलागीबाट करोडौँको क्षति भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सट भएर आगलागी भएको अनुमान गरिएको छ।
आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयहरू सक्रिय भएका थिए। करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको आयोजनामा आठ दिनअघि सुरु भएको महोत्सवमा यति ठूलो क्षति भएपछि आयोजक, व्यवसायी तथा स्थानीयहरू चिन्तित बनेका छन्।